बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले नेकपा एमालेविरुद्धको गठबन्धन नेताहरुबीच देखाउनका लागि मात्र भएको बताएका छन् ।
एमालेको जनलहरबाट आत्तिएर नेताहरुबीच गरिएको गठबन्धन जनताले परास्त गर्ने उनको भनाइ छ । नेकपा एमाले तिनाउ पाल्पाको उम्मेदार परिचय तथा प्रतिवद्धता सार्वजनिक कार्यक्रममा बोल्दै उनले भागवण्डाका लागि गरिएको गठबन्धनले एमाले थप बलियो बनेको बताए।
अध्यक्ष कंडेलले निर्वाचनको समयमा पार्टीभित्रका मतभेदलाई बिर्सेर गठबन्धनलाई परास्त गर्न निर्देशन दिएका थिए । एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य झपेन्द्र जीसीले एमालेको आन्तरिक एकताले जुनसुकै गठबन्धनलाई परास्त गर्नसकिने आधार भएको बताए । एमालेबाहेकका दलहरु गठबन्धनमा जोडिएका बेला एमालेका कार्यकर्ता एकजुट हुनुको विकल्प नरहेको उनले बताए ।
ओमबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पा जिल्ला सदस्य तथा तिनाउ गाउँपालिका इन्चार्ज दलबहादुर गुरुङले कार्यक्रमको संचालन गरेका थिए । गुरुङले निर्वाचनका समयमा उम्मेदारले गर्नुपर्ने भूमिका तथा रणनीतिका बारेमा रणनीतिक योजना प्रस्तुत गरेका थिए ।
तिनाउबाट एमालेले अध्यक्षमा प्रेम श्रेष्ठलाई अध्यक्ष तथा साबित्रा रानालाई उपाध्यक्षमा उठाएको छ । तिनाउमा माओवादीले अध्यक्षसहित २ वडाध्यक्ष तथा कांग्रेसले उपाध्यक्षसहित ४ वडाध्यक्ष लिनेगरी गठबन्धन गरेका छन् ।
माओवादीलाई यहाँको नेतृत्व दिएको भन्दै कांग्रेसका ६ वटै वडा सभापति तथा गाउंसभापतिले पार्टीमा राजीनामा बुझाएपछि गठबन्धनमा चूनौती थपिएको छ । एमालेले विप्लव नेतृत्वको नेकपा तथा अन्य साना दललाई साथमा लिएर यसअघिको आफ्नो नेतृत्व कायम राख्ने रणनीति बनाएको छ । यसअघि तिनाउमा एमालेले जितेको थियो ।
प्रतिक्रिया