बुटवल । २०७९ बैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि उमेद्वारी दर्ता सकिएको छ । उमेद्वारी दर्ता सकिएसंगै विभिन्न पार्टीका नेता कार्यकर्ता अब चुनावी प्रचार–प्रसारमा जुटेका छन् भने कतिपयले आ आफना चुनावी प्रतिवद्धता जनता सामु प्रस्तुत गर्न थालेका छन्।
पाल्पा,सदरमुकाम तानसेन बजारबाट दक्षिण–पश्चिममा रहेको तिनाउ गाउँपालिकाकाको अध्यक्षका लागि नेकपा एमालेबाट युवा नेता प्रेम श्रेष्ठले उमेद्वारी दर्ता गराएका छन् भने उपाध्यक्षमा सावित्रा रानाले उमेद्वारी दर्ता गराएकी छन् । हिजो सोमबार मध्यान्ह उमेद्वारी दर्ता गराएका श्रेष्ठले युवाहरुलाई स्वरोजगारी बनाउने गरि आफ्नो उमेद्वारी दर्ता गराएको बताए । तिनाउ गाउँपालिका वडा नम्बर ५ जोरधार निवासी श्रेष्ठ तिनाउमा सबैको प्रिय पात्रका रुपमा चिनिन्छन् ।
सबैलाई समान व्यवहार गर्ने श्रेष्ठले तिनाउको अध्यक्षमा उमेद्वारी दिएपछि भने तिनाउमा चर्चा चलेको छ । वुवा तुलसी प्रसाद श्रेष्ठ र आमा राकुमारीका जेठो सन्तान रहेका श्रेष्ठले उच्च शिक्षा सम्मको अध्ययन गरेका छन् । श्रेष्ठसँग नेकपा एमाले तिनाउ गाँउ कमिटी अध्यक्ष , नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको केन्द्रिय सदस्य, राष्ट्रिय युवा संघ नेपालको पूर्ब केन्द्रिय सदस्य, युवा सञ्जाल तिनाउको अध्यक्ष, उद्योग बाणीज्य संघ पाल्पाको २ कार्यकाल सदस्य सम्हालेको अनुभव छ । त्यस्तै शिक्षातर्फ कल्याणी आधारभुत बिद्यालय व्यवस्थापन समितिको पूर्व अध्यक्ष भएर पनि आफनो कुशल जिम्मेवारी सम्हालिसकेका छन् ।
श्रेष्ठले तिनाउ खानी तथा खनिज पदार्थ,नदीजन्य पदार्थ, वन,वातावरण,जैविक विविधता,प्रागैतिहासिक,पुरातात्विक,धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताउँदै समृद्ध तिनाउ,सुखी तिनाउबासीको संकल्प लिएको बताए । तिनाउमा मगरजातिको बाहुल्य रहेको छ ।
त्यस्तै पालिकामा अन्य ब्राह्मण, क्षत्री,नेवार,गुरुङ,थकाली,दशनामी, कला,सीप र व्यवसायका धनी दलित जाति र कुशबाडिया जातिको समेत बसोबास रहेकाले सबै आम पालिका बासीका समस्या पहिचान गरि आवश्यकताका आधारमा समस्या समाधान गर्ने बताए ।
तिनाउमै एक करोड १० लाख वर्ष पुरानो आदिमानव रामपिथेकसको यहाँ बंगारा भेटिएको वैज्ञानिक प्रमाणीकरण भइसकेको, सिद्धपुरुष भर्तृहरिले तपस्या गरी सिद्धि प्राप्त गरेको सिद्धबाबा क्षेत्र ,साथै नेपाल र अंग्रेज युद्धमा नेपालले अंग्रेजमाथि बिजय प्राप्त गरेको नुवाकोट गढी र धार्मिक एवम् पर्यटकीय महत्व बोकेको सत्यवती ताल समेत यही पालिका रहेकाले पर्यटनको प्रसस्त सम्भमवना बोकेबो बताउदै आफनो जित पछि तिनाउले मुहार फेर्ने बताए।
तिनाउमा २०७४ सालमा भएको पहिलो स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) ले तिनाउ गाउँपालिकामा अध्यक्ष,उपाध्यक्ष र दुईवटा वडाध्यक्ष सहित निर्वाचित भएको थियो । कृषि र पर्यटनका माध्यमद्वारा तिनाउलाई समृद्ध बनाउनका लागी आफुले उमेदवारी दिएको श्रेष्ठले बताए । उनले शिक्षा,स्वास्थ्य,रोजगारीमा सहज पहुँच,वन,वातावरण र जैविक विविधता संरक्षणमा विशेष योगदान गर्दै स्थानीय नागरिकहरुलाई उद्यमशीलतामार्फत यहाँको आर्थिक रुपान्तरणमा चासो दिने सोच रहेको जनाए । ‘आफ्नै गाउँमा आँफैलाई रोजगारी’ नारालाई कार्यान्वयन गर्ने नीति,योजना,कार्यक्रम तय गरिने पनि श्रेष्ठको योजना छ ।–(श्रेष्ठसँगको कुराकानीमा आधारित)
प्रतिक्रिया