ताजा अपडेट »

ठूलो मात्रामा सुन र नगद चोरीमा संलग्नलाई पक्राउको माग गर्दै बुटवलका सुनचाँदी पसल बन्द

बुधबार, १४ बैशाख २०७९

बुटवल । बुटवलका सुनचाँदी पसल आज बन्द रहेका छन् । सोमबार राति बुटवल उपमहानगरपालिका–६ स्थित बिपिचोक स्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको विरोधमा सबै सुनचाँदी पसल बन्द भएका हुन् ।

चोरीमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन प्रशासनलाई दबाब दिनका लागि पसल बन्द गरिएको सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले २ किलो सुनका गहना, २४ तोला काँचो सुन र नगद ५ लाख चोरी भएको बताए । लुटेराले पसलमा तोडफोड गर्नका लागि वल्डिङ्ग मेसिन प्रयोग गरेका थिए । पसलका सञ्चालक डिलबहादुर सुनारका अनुसार घर भाडामा लिएर योजनाबद्ध रुपमा चोरी भएको बताए ।

चोरी गर्ने व्यक्ति सिसिटिभि फुटेजमा स्पष्ट रुपमा देखिएका छन् । यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता पौडेलले घटनाका बारेमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए । साथै चोरी गर्ने व्यक्ति छिट्टै नै पक्राउ गरिने बताए ।