ताजा अपडेट »

दुर्गा मन्दिरमा कसम खाएर २५ वर्षीया भगवतीले दिइन् बुटवलको उप-मेयरमा उम्मेद्वारी

सोमबार, १२ बैशाख २०७९

बुटवल । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बुटवल उपमहानपालिकामा उपप्रमुख पदका लागि २५ वर्षिया युवतीको उम्मेदारी परेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट उप प्रमुखका लागि भगवती पाण्डेले उम्मेदवारी दर्ता गराएकी हुन् ।

बुटवल-११ को बासिन्दा पाण्डेय राप्रपाको क्षेत्रिय कोषाध्य हुन भने नेपाल ट्रेड यूनियन महासंघको जिल्ला अध्यक्ष हुन् । बुटवलको पुलचोकमा अवस्थित दुर्गा मन्दिरमा पुगी 'म भ्रष्टाचार गर्दिन '- भन्ने प्रण गरेर बुटवल उपमहानगरको निर्वाचन कार्यालयमा आई सोमबार दिउँसो उनले उमेद्वारी दर्ता गराएकी हुन् ।

१६ वर्षको उमेर एसएलसी दिएसँगै राजनीतिमा सक्रिय भएको बताउने उनले अबको नेतृत्व युवाको हातमा जानू पर्ने बताइन् । राप्रपामा रहेर विगत १० वर्षदेखि राजनीतिक जीवन बिताएको तथा अवको नेतृत्व युवामा जानू पर्छ भन्ने मान्यताले नै पार्टीले टिकट दिएको उनले उल्लेख गरिन्।

महिला अधिकारको क्षेत्रमा समेत काम गर्दै आएकी उनी एक सफल उद्यमी पनि हुन् । उनले बुटवलमै केक कोसेली बुटवल सञ्चालन गर्दै आएकी छन् । राप्रपाको तर्फबाट बुटवलको प्रमुखमा मृगेन्द्र शेरचनले उम्मेदवारी दर्ता गराएका छन्।