ताजा अपडेट »

एमाले पश्चिम नवलपरासीका सात वटै पालिकामा उमेदवारको टुंगो

सोमबार, १२ बैशाख २०७९

परासी । नेकपा एमाले पश्चिम नवलपरासीका सबै स्थानीय तहमा उमेदवारको टुंगो लगेको छ । टुंगो लगाएका प्रमुख उमेदवारमा अधिकांश पुरानै छन् । यसअघि जितेकामध्ये २ वटा पालिकाको प्रमुखमा दोहोराएर उमेदवार बनाइएको छ ।

जितेको १ गाउँपालिकाको उपाध्यक्ष पनि दोहोराइएको छ । दुई नगरपालिकाको उपप्रमुखमा भने नयाँ अनुहार उठाइएको छ । दोहोरिएका उमेदवारमा बर्दघाट नगरपालिकाको प्रमुखमा धीरज शर्मा र सुस्ता गाउँपालिकाको अध्यक्षमा रामप्रसाद पाण्डे रहेका छन्।

सुस्ता गाउँपालिकाको उपाध्यक्षमा इन्द्रकुमारी थरुनीलाई दोहोराएर उमेदवार बनाइको छ । बर्दघाट नगरपालिकाको उपमेयर राष्ट्रिय जनमुक्ति पार्टीलाई दिइएको छ । गठबन्धन भएकाले त्यहाँ राष्ट्रिय जनमुक्तिबाट तारा रानालाई उठाइएको छ । राष्ट्रिय जनमुक्तिले सूर्य चिन्ह लिएर चुनाव लड्ने एमालेले जनाएको छ ।

सुनवल नगरपालिकाको प्रमुखमा विमला अर्याल र उपप्रमुखमा सूर्य दुबे छन् । अर्याल यसअघि पनि मेयरको उम्मेद्धार थिइन् । उनी नेपाली कांग्रेसका भिम बहादुर थापासँग पराजित भएकी थिइन् । अर्याल हाल एमालेको केन्द्रिय सदस्य तथा एमाले पश्चिम नवलपरासीको सहईन्चार्ज समेत हुन् । रामग्राम नगरपालिकाको प्रमुखमा धनपत यादव र उपप्रमुखमा लक्ष्मी क्षेत्री उमेदवार भएका छन्। सरावल गाउँपालिकाको अध्यक्षमा सुखाडी चौधरी र उपाध्यक्षमा बासमती हरिजन छन् ।

पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा अफताब आलम अंसारी र उपाध्यक्षमा रिंगला यादव, प्रतापपुर गाउँपालिकाको अध्यक्षमा खेमनारायण चौधरी र उपाध्यक्ष थमसरा न्यौपाने ( कमला ) को नाम टुंगो लागेको एमाले जिल्ला कमिटि अध्यक्ष दिपेन्द्र कुमार अधिकारीले बताए ।