ताजा अपडेट »

लुम्बिनीमा गठबन्धन भित्र भाग नमिलेपछि जसपा एक्लै चुनावमा जाने

आइतबार, ११ बैशाख २०७९

बुटवल । गठबन्धन दलभित्र भाग नमिलेपछि जनता समाजवादी पार्टी (जसपा) लुम्बिनी प्रदेशमा एक्लै चुनावमा जाने तयारी गरेको छ । पाँच दलीय गठबन्धन भित्र जसपाले मागेजति प्रमुख तथा उप–प्रमुखको पद नपाउने भएपछि एक्लै चुनावमा जाने निर्णय गरेको हो ।

गठबन्धनको प्रमुख दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले आफूहरुलाई सहअस्तित्व प्रदान नगरेपछि एकलरुपमा जाने तयारी भएको जसपा प्रदेश मुख्य सचिव यज्ञ पोखरेलले बताए । जसपाले लुम्बिनी प्रदेशमा २५ ठाउँमा प्रमुख र २६ ठाउँमा उपप्रमुख दाबी गरेको थियो । काँग्रस माओवादीको चेपुवामा पर्नुभन्दा एकल रुपमा जान उपयुक्त रहेको पोखरेलले बताए । गठबन्धनका पाँचै दलको सहभागितामा संयन्त्र र कार्यदल गठन गरी पटक-पटक बैठक र छलफल गर्दा पनि कुरा नमिलेपछि एकल रुपमा जाने तयारी भएको पोखरेलले बताए ।

गठबन्धन दल काँग्रेसका एक नेताले भने जसपा एकल रुपमा जाने नभई धेरै भाग पाउनका लागि बार्गेनिङ मात्र गरिरहेको उल्लेख गरे । धेरै भाग पाउनका लागि जसपाले बार्गेनिङ गरेपनि हैसियतभन्दा माथिको अपेक्षा गर्नु गलत भएको उनले उल्लेख गरे ।