बुटवल । पाल्पाको तिनाउ गाउँपालिकामा नेपाली कांग्रेसका ६ वटै वडा सभापति तथा गाउँ सभापतिले माओवादीलाई पालिका नेतृत्व दिन असहमत भएका छन् । गठबन्द भित्र पद बाँडफाँडमा न्यायसंगत नभएको भन्दै काँग्रेसका वडा सभापतिहरुले सामुहिक निवेदन जिल्ला नेतृत्वमा बुझाएका छन् ।
गाउँ सभापति प्रेम पाण्डेले सबै वडासभापति तथा आफ्नोसमेत हस्ताक्षरमा कुनै हालतमा माओवादीलाई नेतृत्व बुझाउन नसकिने जानकारी जिल्ला नेतृत्वलाई दिएको बताए । पाल्पाका सबै पालिकामा गठबन्धन हुँदा तिनाउ माओवादीको भागवण्डामा परेपछि यहाँका कांग्रेस नेताकार्यकर्ता आन्दोलन सुरू गरेका छन् ।
नेतृत्वले तिनाउँमा प्रमुख पद माओवादीलाई दिने निर्णय गर्नुका साथै वडा अध्यक्षहरुको पद बाँडफाँडमा समेत अन्याए भएको पाण्डेले बताए । ‘पहिले काँग्रेसले ५ वटा वडाको अध्यक्ष पाउने भन्ने थियो, पछि ४ बटामा झर्यो ।’-ग्लोबल आवाजसँग कुरा गर्दै पाण्डेले भने, ‘काँग्रेसले प्राप्त गरेका वडाहरु पनि जित सुनिश्चित भएका वडाहरु हैनन् ।’ तिनाउमा काँग्रेसले वडा नम्बर १, ३, ४ र ६ को अध्यक्ष पाएको छ भने २ र ५ को अध्यक्ष पद माओवादीको भागमा परेको छ ।
गाउँ सभापति पाण्डेले लोकतन्त्र र प्रजातन्त्र मान्ने कांग्रेसले माओवादीका लागि राजनीति गर्न नहुने सबैको मत रहेको बताए । उनले कांग्रेस कार्यकर्ताका हात समातेर माओवादीलाई जिताउन नसकिने र जे जति मत आउँछ सबै ठाउँमा उम्मेद्वारी दिने दावी गरे ।
प्रतिक्रिया