ताजा अपडेट »

कपिलवस्तु र अर्घखाँचीमा गरी ३२५ बढी जनप्रतिनिधिले दिए राजीनामा

आइतबार, ११ बैशाख २०७९

कपिलवस्तु/अर्घखाँची । स्थानीय निर्वाचनमा उम्मेदवार दिनका लागि कपिलवस्तु र अर्घखाँचीमा गरी ३२५ बढी जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

कपिवस्तुका १० स्थानीय तहका ५१३ मध्ये हालसम्म २ सय २१ जनप्रतिनिधिले राजिनामा दिएका छन् । विजयनगर र कृष्णनगर गाउँपालिका बाहेकका पालिकामा जनप्रतिनिधिले शुक्रवार राजिनामा पेस गरेका छन् । हालसम्म महाराजगन्ज नगरपालिकाका नगरप्रमुख अव्दुल कलाम मुसलमान, यशोधरा गाउँपालिकाका अध्यक्ष ग्रिजेश कुमार पाण्डे, मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरीले राजिनामा दिनु भएको छ । यसै गरी ४ नगर उप–प्रमुख र २ गाउँपालिका उपाध्यक्षले समेत राजीनामा दिएका छन् ।

हाल सम्म कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका जनप्रतिनिधिको राजिनामा आउन सकेको छैन । यसै गरी ४८ जना वडा अध्यक्ष र १६४ वडा सदस्यले राजिनामा दिनु भएको छ । महाराजगन्ज नगरपालिका, कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाका धेरै जनप्रतिनिधिले राजीनामा दिएका छन् ।

कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा ५६ जन प्रतिनिधिले राजीनामा दिएका छन् । नगरपालिकामा राजिनामा नदिनेमा २ वडा सदस्य मात्र रहेका छन् । नगरप्रमुख अव्दुल कलाम मुसलमान, उपप्रमुख शुभावती कुर्मी सहित ११ वडाका वडा अध्यक्षले राजीनामा दिएका छन् । नगरप्रमुखले उपप्रमुख र उपप्रमुखले प्रमुख सँग राजीनामा दिएका छन्।

यसै गरी कपिलवस्तु नगरपालिकाको उपमेयर सहित ४८ जना जनप्रतिनिधिले राजिनामा दिनु भएको छ । नगरपालिकामा कुल ६४ जना जनप्रतिनिधि रहेका छन्। यशोधरा गाउँपालिकामा ४२ मध्ये ३९ जना जनप्रतिनिधिले राजिनामा दिएका भएको छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष र सबै वडा अध्यक्षले राजीनामा दिएका छन् ।

यता अर्घाखाँचीमा पनि १२५ जनप्रतिनिधिले राजिनामा दिएका छन् । वैशाख ३० गते हुने स्थानिय तहको चुनावमा पुनः उम्मेदवारीको आकाङ्क्षा राख्दै मेयर, वडा अध्यक्षसहित १२५ जना जनप्रतिनिधिले राजिनामा दिएका हुन् । निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ अनुसार बहालवाला जनप्रतिनिधिले पालिकाको कुनै पनि पारिश्रमिक, सुविधा पाउने गरी लाभको पदमा नरहेको हुनुपर्ने र उम्मेदवारी दिनुअघि नै राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ।

१२ वटा वडा रहेको सन्धिखर्क नगरपालिकाका २२ जना जनप्रतिनिधिहरुले पुनः उम्मेद्वार बन्न पदबाट राजिनामा दिएका छन् । सन्धिखर्क नगरपालिकाका प्रमुख सहित वडा अध्यक्ष, वडा सदस्य गरी २२ जनाले पदबाट राजिनामा दिए ।

यस्तै शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी उपप्रमुख टीका रेस्मी लगायत १३ वडा अध्यक्ष सहित ४४ जनाले, भूमिकास्थान नगरपालिकाका मेयर रेशम थापा र सिफारिस भएका वार्ड अध्यक्ष र सदस्यहरु गरी १७ जना बहालवाला प्रतिनिधिले राजिनामा दिएका छन् ।

पाणिनी गाउँपालिकामा पनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम, उपाध्यक्ष लक्ष्मी गौतम ,वडाध्यक्षहरु सहित १२ जना, छत्रदेव गाउँपालिकामा पनि वडाध्यक्ष र सदस्य गरी १५ जना र मालारानी गाउँपालिका प्रमुख तथा वडाअध्यक्ष र सदस्य सहित १५ जनाले राजिनामाका छन् ।

सरकारले स्थानीय तहको निर्वाचन २०७९ को लागि बैसाख ३० गते मिति तोकेको छ । उम्मेद्वार दर्ता गर्ने मिति ११ र १२ गते बैशाखमा रहेको छ ।-गोरखापत्र अनलाइन्