ताजा अपडेट »

सरकारले ७६ करोडको धान खरिद गर्दै

सोमबार, ०२ मंसिर २०७६

मंसिर २,

काठमाडौँ । नवगठित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत् सरकारले यस वर्ष ३० हजार मेट्रिक टन धान खरिद गर्ने लक्ष्य राखेको छ  । जसमध्ये १६ हजार ५ सय मेट्रिक टन मोटा धान, ११ हजार ५ सय मेट्रिक टन मध्यम धान, १५ सय मेट्रिक टन जिरा मसिनो धान र ५ सय मेट्रिक टन बासमती धान खरिद गर्ने लक्ष्य राखेको हो । 

उक्त धान खरिद गर्न ७६ करोड रुपैयाँ विनियोजन गरेको कम्पनीका प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन् । अघिल्लो वर्ष पनि ३५ हजार मेट्रिक टन धान खरिद गर्न ९१ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, लक्ष्यको २२ हजार ५ सय ९२ टनमात्रै खरिद भएको थियो । जसमा मोटा धान २८ सय मेट्रिक टन, मध्यम धान १९ हजार ७८७ मेट्रिक टन खरिद गरेको थियो भने जिरा मसिनो र बासमती धान खरिद नै नगरेको बताइन् । गत वर्ष मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानको २४ सय ६० रुपैयाँ ५७ पैसा तोकिएको थियो । पश्चिममा छिट्टै रोपाइँ भएकाले धान बजारमा आएको हो । बजार सन्तुलन र किसानलाई उचित मूल्य दिन सरकारले कात्तिक ७ गते धानको समर्थन मूल्य तोकेको थियो । आर्थिक वर्ष २०७६/७७ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २५ सय ३२ रुपैयाँ ८० पैसा र मध्यमको २६ सय ७३ रुपैयाँ १६ पैसा तोकेको छ ।

गत बर्षको तुलनामा यस वर्ष सिजनमा २०० रुपैयाँले बढेको छ । यी दुई धानको समर्थन मूल्य तोकिए पनि मन्त्रिपरिषद्को निर्णय कम्पनीले करिब दुई साता ढिला प्राप्त गरेको थियो । कम्पनीको बोर्ड बैठकबाट स्वीकृत गरी प्रक्रिया बढाउँदा केही लम्बिएको सुवेदीेले बताइन् । अब भने धान खरिद कार्य तीव्र रुपमा अगाडि बढ्ने उनको भनाइ छ ।   कम्पनीले धान खरिद गर्न थालेको छ । बिहीबारबाट नेपालगन्ज, राजापुर र धनगढीमा धान खरिद गर्न थालेको प्रवक्ता सुवेदीले जानकारी दिइन् । कम्पनीले १० वटा खरिद केन्द्रबाट धान खरिद गर्ने भएको छ । जसमा नेपालगन्ज, राजापुर, धनगढी, विर्तामोड, विराटनगर, लाहान, वीरगन्ज, जनकपुर, भैरहवा र महेन्द्रनगरबाट कम्पनीले धान खरिद गर्ने भएको छ ।  

सरकारले धानको समर्थन मूल्य तोकेको २१ दिनपछि कम्पनीले धान किन्न थालेको सुवेदीले बताइन् । कम्पनीका अनुसार बर्दियाको राजापुर, कैलालीको मोहनपुर, टीकापुर, जोशीपुर र भजनी क्षेत्रमा धान खरिद गर्न काँटा राखिएको छ । ती क्षेत्रमा मोटा धान खरिद भइरहेको छ । बाँकेमा भने मोटा र मध्यम दुवै धान खरिद भइरहेको छ । पश्चिममा धमाधम धान खरिद भइरहेको छ । पूर्वतिरका लागि पनि पत्राचार गरेको सुवेदीले बताइन । उनका अनुसार पूर्वमा अझै धान काट्न बाँकी रहेको रे काटेको पनि चिसो धान खरिद गर्दा गुणस्तरको समस्या हुन्छ । त्यसैले पूर्वमा धान खरिद गर्न केही ढिलाइ भइरहेको जानकारी सुवेदीले दिइन् । - मानमती पन्त /आर्थिकन्यूज