नेपालगञ्ज । केही समयअघिदेखि निकै घटेको कोभिड–१९ सङ्क्रमण भारतमा पुनः बढ्न थालेपछि लुम्बिनी प्रदेश बाँकेको जमुनाह नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । सङ्क्रमण बढ्दै गएपछि भारतबाट नेपाल आउनेमाथि निगरानी बढाउनुका साथै नाकामा रहेको हेल्थ डेस्कले फेरि एन्टिजेन परीक्षणको दायरा बढाउँदै लगेको छ ।
सङ्क्रमण भित्रिन नदिन जमुनाह नाकामा रहेको हेल्थ डेस्कमा अहिले दिनहुँ शङ्कास्पद देखिएका १५० देखि २०० जनासम्मको एन्टिजेन परीक्षण भइरहेको हेल्थ डेस्कका प्रयोगशाला अधिकृत चिरञ्जीवी ज्ञवालीले जानकारी दिए । उनका अनुसार गत चैत महिनामा भारतबाट आएका छ हजार चार सय जनाको एन्टिजेन परीक्षण गर्दा चार जनामा मात्र कोरोना पोजेटिभ देखिएको थियो । अहिले परीक्षण बढाइए पनि वैशाखमा कसैमा पनि पोजेटिभ नदेखिएको उनले बताए।
भारतका ठूला सहरबाट आउनेहरूका लागि सीमा क्षेत्रमा खोप कार्ड अनिवार्य गरिएको पनि ज्ञवालीले बताउनुभयो । दोस्रो मात्रा खोप लगाएको प्रमाणित खोप कार्ड नभएकाको एन्टिजेन परीक्षण गरेर मात्रै नेपाल भित्रिन दिइएको हेल्थ डेस्कले जनाएको छ । खोपका कारणले विगतमा जस्तो भयावह अवस्था नभएको उल्लेख गर्दै हेल्थ डेस्कका अधिकृत ज्ञवालीले स्वास्थ्य जाँच नगराई सीमा क्षेत्रबाट नेपाल आउन नदिएको जानकारी दिए।
वैशाख महिनामा जमुनाह नाकाबाट चार हजार आठ सय जना खोप कार्ड भएका नागरिकले आवागमन गरेको पाइएको छ । स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजङ्ग शाहले स्वास्थ्य जाँचलाई सीमा क्षेत्रमा कडाइका साथ लागू गरिएको उल्लेख गर्दै केही साता यतादेखि स्वास्थ्य जाँचका लागि पाँच जनाको स्वास्थ्य समूह परिचालन गरिएको बताए ।
भेरी अस्पताल, नेपालगञ्जका सूचना अधिकारी डा। सङ्केतकुमार रिसालले अहिलेसम्म कोभिड–१९ सङ्क्रमणका बिरामी नआएकाले शून्य अवस्था रहेको उल्लेख गर्दै तर भारतमा बढ्दै गएकोले यहाँ सर्तकता आवश्यक भएको बताए। भारतको सङ्क्रमण अवस्थालाई देखेर नेपालमा पनि सावधानी अपनाउन स्वास्थ्य विभागले मातहतका कार्यालयलाई निर्देशन जारी गरिसकेको छ ।
प्रतिक्रिया