मंसिर २,
दमौली । तनहुँ जिल्लाको व्यास नगरपालिका–७ मा चितुवाको डमरु मृतावस्थामा फेला परेको छ। व्यास नगरपालिका–७ स्थित लोककल्याण सामुदायिक वनमा आज बिहान चितुवाको डमरु मृतावस्थामा फेला परेको हो।
अन्दाजी २ वर्ष र १० किलो रहेको उक्त चितुवाको डमरुलाई डिभिजन वन कार्यालयको प्राङ्गणभित्र खाडल खनेर पुरिएको डिभिजन वन प्रमुख केदार बरालले जानकारी दिए। पेट फुटेको र घाउ चोट लागेको अवस्थामा फेला परेको डमरुको मृत्युको कारणबारे खुल्न नसकेको बरालले बताए। 'भाले चितुवाकै आक्रमणबाट डमरुको मृत्यु भएको हुन सक्छ,' बरालले भने। जिल्लामा विगत केही वर्षदेखि चितुवाको आतङ्क छ। भानु नगरपालिकामा डेढ वर्षको अवधिमा चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भएको छ भने चारजना बालबालिका घाइते भएका छन्।-रासस
प्रतिक्रिया