ताजा अपडेट »

बुटवलको हात्तीसुँढमा जसपाको चुनावी प्रचारप्रसार कार्यालय स्थापना

बुधबार, ०७ बैशाख २०७९


बुटवल। आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी, नेपाल बुटवल उपमहानगर समितिले बुटवल वडा नं. ११ स्थित हात्तीसुँढमा चुनावी प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरेको छ । बुधबार एक कार्यक्रम गरी पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज कमल खनालले सो चुनावी सम्पर्क कार्यालयको उदुघाटन गरेका हुन् ।

कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै सहइन्चार्ज खनालले जसपा सुशासन र सदाचारको पक्षमा दह्रोसँग उभिने बताउँदै स्थानीयतह, वडा र टोलटोलमा हुने आर्थिक अनियमितता र भ्रष्टाचारको भण्डाफोर गर्दै जनतालाई जागरुक बनाउन पार्टी प्रतिबद्ध भएको बताए ।

उनले अबको निर्वाचनमा जसपा नेपालले स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानीका साथै भूमिहीन सुकुम्बासीहरुका लागि उचित र गुणस्तरीय आवासको प्रबन्धमा जोड दिने उल्लेख गरे ।

त्यस्तै कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं आर्थिक विश्लेषक मनिकर कार्कीले जसपा, नेपालले मुलुकका सबै उत्पीडित जाति, वर्ग र समुदायका मानिसहरुलाई सम्मान र सुरक्षा प्रदान गर्ने बताउँदै यो पार्टी सबै उत्पीडित वर्ग र समुदायको घर भएको बताए । उनले पुराना पार्टीहरुले सुकुम्बासी एवं भूमिहीनहरुमाथि भोट र नोटको राजनीति गरेकाले अब त्यसको दिगो समाधान निकाल्नुपर्नेमा जोड दिंदै जसपाले स्थानीय तहको निर्वाचनमा शिक्षा, स्वास्थ्य, रोजगारीका विषयहरुमा जोड दिने बताए ।

कार्यक्रममा बोल्दै जसपा बुटवल उपमहानगरका इन्चार्ज नारायण नागिलाले स्थानीय टोलसमितिका नाउँमा भएका आर्थिक अनियमितता र भ्रष्टाचारको भण्डाफोर गर्दै त्यस्ता गतिविधिमा संलग्नहरुलाई कानूनी कारबाहीको दायरामा ल्याउन पार्टीले पहल गर्ने बताए ।

त्यस्तै उपमहानगर कमिटीका अध्यक्ष बामदेव भुसालले जनता समाजवादी पार्टी स्थानीय बासिन्दाले भोगिरहेका आधारभूत समस्याहरुबाट परिचित भएकोले शिक्षा, स्वास्थ्य, रोजगारीका समस्यालाई समाधान गर्दै समुन्नत उपमहानगर बनाउन क्रियाशील हुने बताए ।

त्यस्तै कार्यक्रममा बोल्दै पार्टीका नेताहरु साबित्री विक, तेजु राना, हरि घर्ती मगर, पार्वती विक, शुषी पुलामी मगर, अनिता लामा, राधा अधिकारीलागायतले बोलेको थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब ५० जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा पृथ्वी बहादुर चुदार, टेवा लामा, विप्लव गलामी, रोल बहादुर राना, राधादेवी अधिकारी, सीता कुँवर, अस्मिता पौडेल, डिबी रसाइली, ममता गाहा, भगवती कुँवरलगायत रहेका छन् ।