काठमाडौं । पल शाहको जबरजस्ती करणीसम्बन्धी मुद्दामा पीडित नाबालिगपछि आज जाहेरवाला पीडितका बुबाले पनि बयान फेरेका छन्।तनहुँ जिल्ला अदालतमा भएको बकपत्रमा पीडितका बुबाले आफूले सुनेको भरमा जाहेरी दिएको बयान गरेको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले बताए।
‘जाहेरवाला पीडितका बुबाले पनि पहिलेभन्दा अलि फरक व्यहोराको बकपत्र लेखाए,’ जिल्ला न्यायाधिवक्ता शर्माले भने, ‘जाहेरीमा सहीछाप आफ्नै हो भने तर छोरीलाई करणी गरेको सुनेको भरमा अरुको उक्साहटमा जाहेरी गरेको, आफूले देखेको चाहिँ होइन भन्ने खालको बयान दिए।’
यसअघि पीडित नाबालिगले पनि बयान फेरेकी थिइन्। आफूलाई प्रेम र बिहेको प्रलोभन देखाएर पटकपटक करणी गरेको आरोप लगाएकी उनले आइतबार बकपत्रका क्रममा अनुसन्धान अधिकारीसमक्ष दिएको बयान बदल्दै पलले आफूलाई बलात्कार नगरेको दाबी गरेकी थिइन्। ‘पीडितले आइतबार फरक व्यहोराको बकपत्र लेखाएकी थिइन्,’ जिल्ला न्यायाधिवक्ता शर्माले भने, ‘अरु त पहिलेभन्दा खासै फरक भनिनन् तर हाम्रो शारीरिक सम्बन्धचाहिँ भएको छैन भनेर बयान फेरेकी थिइन्।’
पीडक परिवारले बिहेको आश्वासन देखाएपछि पछिल्लो समय मनोवैज्ञानिक रुपमा विक्षिप्त रहेकी पीडित र उनको परिवारले ‘होस्टाइल’ भएर बयान फेरेको अधिवक्ताहरुको आशंका छ। ‘तर बयान फेरिँदैमा पलले सफाइ पाउने भन्ने चाँहि होइन। ‘मिसिलमा अरु प्रमाणहरु पनि समावेश छन्। साविती बयानकै आधारमा प्रतिवादीले सफाइ पाउने भन्ने त हुँदैन। अब अदालतले केलाई प्रमाणका रुपमा लिन्छ, त्यसकै आधारमा फैसला आउने हो,’ जिल्ला न्यायाधिवक्ता शर्माले भने।
त्यस्तै आज पीडितका बुबाको बयानअघि गायक दुर्गेश थापाले पनि बकपत्र गराएका छन्। सोमबार भने पीडितको पक्षबाट गायक कमल खत्रीसहित पलका साथीहरु सागर लामिछाने, नरेश जोगी र अर्बिन पामोले बकपत्र गरेका थिए।
प्रतिक्रिया