ताजा अपडेट »

बुटवलमा कांग्रेस भित्र उम्मेदवार सिफारिसप्रति असन्तुष्टि, निर्णय बदर गर्न माग

मंगलबार, ०६ बैशाख २०७९

बुटवल । नेपाली कांग्रेस बुटवल नगरसमितिले बुटवल उपमहानगरपालिकाको निर्वाचनका लागि मेयर तथा उपमेयर पदमा गरेको सिफारिसलाई लिएर कांग्रेसमा तिव्र असन्तुष्टी देखापरेको छ । कांग्रेसको नगरसमितिले मेयर पदमा खेलराज पाण्डेलाई सर्वसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको बताएको थियो ।

त्यस्तै उपमेयरमा ८ जनाको नाम शिफारिस गरेको थियो । आज गरेको उक्त शिफारिसको विरोधमा यस क्षेत्रका १७ जना कांग्रेसका नेताहरुले एक वक्तव्य जारी गर्दै नगरसमितिले गरेको शिफारिस वदर गर्न लुम्विनी प्रदेश समितिसमक्ष माग गरेका छन । 'घरघरमा माईन्युट डुलाएर सर्वसम्मत सिफारिसमा हस्ताक्षर गराएको कुरा आएको त्यो हामीलाई मान्य छैन ।' कांग्रेसका एक क्षेत्रीय पदाधिकारीले बताए । यो निर्णयको विरुद्ध उनीहरुले प्रदेश समिति र जिल्ला समितिलाई ज्ञापन पत्र समेत बुझाएका छन्।

उक्त ज्ञापनपत्रमा क्षेत्रीय सभापति हरि लम्साल, प्रदेश २ क र ख का सभापतिहरु क्रमशःपर्शुराम ढकाल र खड्क वहादुर महत लगाएत महेशमान सिंह, जनक कोईराला, प्रकाश राना, चोपनारायण श्रेष्ठ, चुन्नु प्रसाद पौडेल, रविन्द्र श्रेष्ठ, जित वहादुर मल्ल, गोपाल पाण्डे, नेत्र भट्टराइ, नरेश्वर पौडेल, गोकर्ण वन्जाडे, रामेश्वर श्रेष्ठ मुक्ति अधिकारी र जोग वहादुर खत्रीको हस्ताक्षर रहेको असन्तुष्ट पक्षका एक नेता जनक कोईरालाले बताए ।