ताजा अपडेट »

अत्याधिक मूल्यवृद्धिको बिरोध गर्दै व्यवसायीले गरे ‘निर्माण होलिडे’ घोषणा, सयाैं याेजना अलपत्र

मंगलबार, ०६ बैशाख २०७९

बुटवल । लुम्बिनी प्रदेशको बाँकेमा निर्माण व्यवसायीहरुले मूल्यवृद्धिको विरोध गर्दै निर्माण होलिडे घोषणा गरेका छन् । निर्माण व्यवसायी संघ बाँकेले ठेक्का सम्झौता हुँदाको समयमा भन्दा अहिले निर्माण सामाग्रीको मूल्य अत्याधिक भएकाले व्यवसायी घाटामा जान थालेको र बाध्य भएर निर्माण होलिडे गर्नुपरेको संघले जनाएको छ ।

निर्माण होलिडेको घोषणासँगै चालु आर्थिक वर्षमा सञ्चालनमा रहेका करिब ७ अर्ब बराबरको ५०० सरकारी निर्माण आयोजनाका काम रोकिएको व्यवसायीहरुले बताएका छन् । निर्माण व्यवसायी संघ बाँकेका अध्यक्ष टेकबहादुर खड्काले काम गर्न सक्ने अवस्था नै नभएपछि बाध्य भएर रोक्नु परेको गुनासो गरे । खड्काले जिल्ला तहमा क्रियाशिल साना व्यवसायीहरुले मूल्यवृद्धि वापतको रकम प्राप्त गर्न नसक्ने र अत्यधिक मूल्य वृद्धिका कारण निर्माण कार्यलाई सुचारु गर्न नसकिने अवस्थामा पुगेको बताए । सरकारले आफ्ना माग पूरा नगर्दासम्म संघमा आवद्ध निर्माण व्यवसायीले आफ्ना सम्पूर्ण काम स्थगित गरी ‘निर्माण होलिडे’ गर्ने निर्णय पारित गरिएको उनले जनाए ।

सबैभन्दा बढी डिजेलमा २५ प्रतिशत, इँटामा ३३ प्रतिशत र फलाममा २४ प्रतिशत मूल्यवृद्धि भएको व्यवसायीले जनाएका छन् । निर्माण होलिडे आफूहरुका लागि अन्तिम विकल्प भएको व्यवसायीहरुको भनाइ छ । कच्चा पदार्थसमेत नपाइएको र पछिल्लो भुक्तानी समेत नपाइएको उनीहरुको गुनासो छ । संघले निर्माण सामग्रीको दररेट समायोजन गर्न, मूल्यवृद्धिलाई राहत हुने गरी निर्देशिका ल्याउन, निर्माण पूरा हुने म्याद थप गर्न माग गरेको छ ।