ताजा अपडेट »

बुटवलमा काँग्रेसबाट गठबन्धन अस्वीकारकाे संकेत, प्रमुखमा पाण्डेसहित उप-प्रमुखकाे नाम सिफारिस

मंगलबार, ०६ बैशाख २०७९

बुटवल । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले बुटवल उपमहानगर पालिकाको प्रमुखको उम्मेदवार टुंगो लगाएको छ । सोमबार बसेको बुटवल उपमहानगर कमिटिको बैठकले नगर प्रमुखमा एक जना र उप प्रमुखमा ८ जनाको नाम सिफारिस गरेको छ ।

बैठकले नगर सभापति रहेका खेलराज पाण्डेको नाम सर्वसम्मत रुपमा पठाउने निर्णय गरेको कांग्रेस बुटवल उपमहानगर समिति सचिव छायां पोखरेलले बताए । बुटवल उपमहानगरका १९ वटै वडा सभापतीहरु सहितको बैठकले नगर प्रमुखमा खेलराज पाण्डे तथा उप प्रमुखमा रिजन श्रेष्ठ, सावित्रा टण्डन, जमुना ढकाल, रिता सेन, रिता केसी, गंगा पन्थी, राधा ज्ञवाली र सबिता साक्यको नाम सिफारिस गरेको बैठकमा सहभागी एक वडा कमिटी अध्यक्षले बताए ।

काँग्रेस बुटवल उपमहानगरले गरेको यो निर्णयसँगै बुटवलमा गठबन्धन दलहरु बीचको सहकार्यमा हुनेमा संका उत्पन्न भएको छ । काँग्रेसले मेयर र उपमेयरको उमेद्वार आकांक्षीहरुको नाम सार्वजनिक गरेसँगै गठबन्धनमा रहेका अन्य दलहरुले भाग नपाउने चिन्ता थपिएको छ । मेयर र उपमेयर दुबै पदका लागि नाम सिफारिस गर्दा गठबन्धनभित्र पद बाँडफाँड गर्ने स्थिति नभएका कारण कुरा बाझिन सक्ने गठबन्धन दलभित्रका एक नेताले बताए ।

नगरले पठाएको नामलाई जिल्ला कार्यालयले अनुमोदन गरेपछि बुटवलको उम्मेदवारहरुको अन्तिम टुंगो लाग्ने छ । बुटवलमा उपमहानगर सभापति रहेका पाण्डे सहित क्षेत्रीय सभापति हरी लम्साल, महाधिवेशन प्रतिनिधी चुन्न प्रसाद पौडेल सहितले नगरप्रमुखमा आकांक्षा देखाएका थिए । सत्तारुढ गठबन्धनका बिचमा भएको सहमति अनुसार बुटवल उपमहानगरमा कांग्रेसले नगरप्रमुख र नेकपा एकिकृत समाजवादीले उपप्रमुख पाउने सहमती भएपनि नेपाली कांग्रेसले उप प्रमुखमा ८ जनाको नाम सिफारिस गरेको छ ।

नगरप्रमुखमा सिफारिस गरिएका पाण्डे यसअघिको स्थानीय तह निर्वाचनमा समेत नगर प्रमुख पदमा उम्मेदवार भएका थिए । एमालेका शिवराज सुवेदीले २३ हजार २ सय ४९ मत पाउँदा माओवादी सहितको गठबन्धनका उम्मेदवार पाण्डेले २० हजार ८ सय ५१ मत पाएर पराजित भएका थिए । त्यसैगरी सिद्धार्थनगर नगरपालिकामा नेपाली कांग्रेसले मोहम्मद ईस्तियाकलाई उम्मेदवार बनाउने भएको सो पार्टीले जनाएको छ ।