मंसिर १,
काठमाण्डौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बर्खास्तीमा परेका राष्ट्रिय टोलीका चार खेलाडी माथि अनुसन्धान सुरु गरेको छ। विश्वकप तथा एसियन कपको छनोटका लागि भुटान प्रस्थान गर्ने बेलामा बिमल घर्ती मगर, अन्जन विष्ट, दिनेश राजबंशी र सन्तोष तामाङलाई अनुशासन उलंघन गरेको भन्दै बर्खास्त गरिएको थियो। बर्खास्तीमा परेपछि बाँकी रहेका १८ जना खेलाडीमा सुबास गुरुङलाई समावेश गरेर १९ खेलाडीसहितको टोली बिमानस्थल गएको थियो। व्यावसायिक फुटबलको लागि इण्डोनेसिया रहेका रोहित चन्द सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय टोलीमा सहभागी भएका थिए।
एन्फाले राष्ट्रीय टीममा परेका खेलाडीलाई होस्टलमा राख्नने गर्छ। राष्ट्रिय टिम भुटान प्रस्थान गरेपछि बर्खास्तीमा परेका चार जना खेलाडी होस्टलबाट बाहिरिएका छन्। ‘खेलाडी होस्टेल बाहिरै छन्, होस्टेलमा फेरि बोलाउने कि ? के गर्ने ? अनुसन्धान कसरी अगाडि बढाउने भन्ने निर्णय गर्न आज एन्फाको बैठक बस्दै छ,’ एन्फाका महासचिव इन्द्रमान तुलाधरले भने, ‘यो दुर्घटना हो या नियोजित घटना, छलफल गर्नेछौं।’ कुवेत विरुद्धको खेलमा सहभागी हुन जाने टोलाीलाई शनिबार बिहान ११ बजे एन्फा मुख्यालयमा बिदाई कार्यक्रम राखिएको थियो। बिदाई हुन एन्फा मुख्यालय पुगेका उनीहरुबाट मद्यपानको दुर्गन्ध आएपछि एक–एक जनालाई सोधपुछ गरिएको थियो। त्यसपछि उनीहरुलाई बखास्त गरिएको थियो। अनुशाषन उलङ्घन गरेको कारण देखाउँदै खेलाडीलाई टोलीबाट हटाइसकेको एन्फाले विभिन्न कोणबाट उनीहरू माथि अनुसन्धान भइरहेको जनाएको छ। फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटअन्तर्गतको पहिलो खेलमा नेपालले कुवेतसँग ७–० को फराकिलो पराजय बेहोरेको थियो। जसमा यी चारै खेलाडी सहभागी थिए। त्यसपछि नेपालले छनोट प्रतियोगिताअन्तर्गत चाइनिज ताइपेईबिरूद्ध २-० को बिजयी नतिजा निकाले पनि जोर्डन ३-० र अस्ट्रेलियासँग ५-० ले पराजित भएको थियो।
नेपाली फुटबलको योभन्दा अघिल्लो पुस्ता ‘म्याच–फिक्सिङ’बाट गुज्रिएको थियो। बिर्सिनलायक त्यो घटनाबाट माथि उठ्न संघर्षरत नेपाली फुटबललाई शुक्रबार राति यी चार खेलाडीले देखाएको हर्कतले घचघच्याएको छ। शुक्रबार दिउँसो मुख्य प्रशिक्षक योहान कालिनले मंगलबार हुने खेलका लागि यी चारै खेलाडीलाई समावेश गरेर २३ सदस्यीय अन्तिम खेलाडी चयन गरेका थिए। त्यो सूचि बाहिरिएको २४ घण्टा नबित्दै निरन्तर पहिलो रोजाइमा पर्दै आएका चार खेलाडी होस्टलबाट बाहिर निस्किनु र चोटसहित मद्यपानको दुर्गन्ध लिएर होस्टेल पुग्नुले अनुशासनको त धज्जी उडायो नै, मिलेमतोको विगतले पिल्सिएको फुटबलको इतिहासलाई झक–झकाएको छ। एन्फाले ‘खेल मिलेमतो’को विषयमा मुख खोलेको छैन। अनुसन्धानको दायरा अनुशाषनलाई नै बनाएको दाबी गरिरहेको छ। तर, एसियाली फुटबलको सर्वोच्च निकाय एएफसीले यसलाई पृथक ढङ्गले लिएको हुनसक्ने एन्फा महासचिव इन्द्रमान तुलाधर बताउँछन्। ‘एएफसीले फिक्सिङकै शंका गरेर अनुसन्धान गरिरहेको भए पनि हामीलाई थाहा हुँदैन,’ महासचिव तुलाधरले भने, ‘एएफसीले आफ्नो तरिकाले अनुसन्धान गर्छ। खेलाडीको गतिविधि हेरेर गरेको पनि हुन सक्छ।’
अहिले राष्ट्रिय टोलीका २० खेलाडी मात्रै भुटानमा छन्। मंगलबार दिउँसो पौने तीन बजे भुटानको थिम्पुस्थित चाम्लिमिथाङ रंगशालामा नेपालका तर्फबाट उपलब्ध तीनै २० खेलाडी मात्रै हुनेछन्। ‘ती चार जना खेलाडी फर्किँदैनन्। २० जना गएका छन्, अब उनीहरूले नै खेल्छन्,’ महासचिव तुलाधरले भने। तीन गोलकिपर कप्तान किरण चेम्जोङ, विकेश कुथु र विशाल श्रेष्ठ टोलीमा छन्। रक्षक सरोज दाहाल, देवेन्द्र तामाङ, अनन्त तामाङ, सुमन अर्याल, अजित भन्डारी र रजिन धिमाल छन्। मिडफिल्डर सुनिल बल, सुवास गुरुङ, विक्रम लामा, रवि पासवान, रोहित चन्द, सुजल श्रेष्ठ, मिक्छेन तामाङ र तेज गुरुङ छन्। फरवार्डमा भरत खवास, नवयुग श्रेष्ठ र अभिशेक रिजाल। - उमेश दाहाल/नेपाल न्युज
प्रतिक्रिया