ताजा अपडेट »

“महिलाले आफूलाई कहिल्यै कमजोर नठानौं”

शुक्रबार, ०२ बैशाख २०७९

भैरहवा । महिला आफुले आफैलाई कहिल्यै पनि कमजोर नठान्न एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । ब्रिटिश काउन्सिलको आयोजनामा गौतम बुद्धको जन्मभूमि लुम्बिनीमा सुरु भएको वुमन अफ द वल्र्ड (वाउ) विश्वका महिलाहरूको महोत्सवको पाचौं संस्करणमा बोल्ने वक्ताहरुले महिला पहिलादेखि नै बलियो भएको तर्क पेश गरेका थिए ।

कार्यक्रममा बोल्दै सञ्चारिका समूहकी लुम्बिनी प्रदेश अध्यक्ष एवम् पत्रकार अमृता अनमोलले जन्म र मृत्युको दोसाँधमा रहेर बच्चा जन्माउने एक आमा कहिल्यै पनि कमजोर नहुने बताईन । उनले सोचाई र संस्कार संग जोडिएर आएको कारण धेरै कुराहरुसंग सम्झौता गर्दै आउनु महिलाको बाध्यता रहेको बताइन् ।

“हामीले सहनुपर्छ, आगोपानी बन्नुपर्छ भन्दै हामीले महिलालाई जहिले पनि सहने स्थानमा राख्यौं ।” अनमोलले भनिन “यो कुरा आफू र आफ्नो घरबाट छोडौं, छोरा र छोरी अथवा आफ्ना दाजु भाई वा श्रीमान श्रीमतीले समान काममा समान सहभागीता जनाउ । त्यहाबाट लैंगिक समानताको कुरा सुरु हुन्छ ।”

उनले समानताको लागि प्रवेशमै महिलालाई प्राथमिकता, महिनावारीमा बिदा, सुत्केरी विदा लगायत केही सकारात्मक बिभेदहरुलाई अक्षरसः पालना गराउन आवाज उठान आवश्यक रहेको बताइन् ।

यस्तै सोही कार्यक्रममा बोल्दै नायिका स्वस्तिमा खड्काले नेपाली फिल्म ईण्डष्ट्रिमा महिला निर्देशक, लेखकको कमि रहेको बताइन । उनले अहिले नेपालमै मात्र हैन अधिकांश बिदेशी महिला प्रधान चलचित्रमा पनि पुरुष निर्देशक एवम् लेखकहरुले काम गर्ने गरेको बताइन्। तर, यस्ता महिला प्रधान चलचित्रहरु महिला लेखक अथवा निर्देशकले गर्दा महिला सम्बन्धि भावनाहरु अभिब्यक्त गर्न अझ सहयोग पुग्ने धारणा राखिन् ।

“नेपाली चलचित्र जगतमा अहिले पनि महिला कलाकर्मीहरुको धेरै कमी छ । धेरै कुराहरुमा परिवर्तन आयो तर, महिलाको संख्या वृद्धि गराउने परिवर्तन गराउने परिवर्तन आएको जस्तो लाग्दैन ।” स्वस्तिमाले भनिन् “महिला कलाकार थप्दा थप सुरक्षाको चिन्ता भए जस्तो मलाई लाग्दछ, तर मैले आफ्नो तरिकाले महिला संख्या थप्न प्रयास जारी राखेकी छु ।”

आजबाट सुरु भएको वुमन अफ द वल्र्ड (वाउ) मा भोलि पनि लैंगिकताकै बिषयमै चर्चा र विभिन्न क्रियाकलापहरु गरिने प्रस्तोता तथा सञ्चारकर्मि माल्विका सुब्बाले जानकारी दिइन् ।

विश्वका महिलाले लैंगिकताका बारेमा कुरा गर्न र विविध पृष्ठभूमिका युवा र समुदायका सदस्यलाई एकैठाउँमा ल्याई ब्रिटिश काउन्सिलको आयोजनामा महोत्सवको आयोजना गरिएको छ ।

लैगिंक समानता, महिला तथा किशोरीले हासिल गरेका उपलब्धि मनाउनु र संसारभरि नै उपलब्धि हासिल गर्नबाट रोक्न सक्ने अफ्ठ्याराहरूको पहिचान गर्नु कार्यक्रमको उद्देश्य रहेको छ । महिलाका समस्याबारे गहन छलफलका साथै चलचित्र, कार्यशाला, हास्यब्यंग्य, लैंगिक विविधता, कथा, कविता, गीत, संगीत र कला जस्ता विविध गतिविधिमार्फत प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।