बुटवल । समाचार संकलनका क्रममा कार्यस्थलमा खटिएका सञ्चारकर्मीहरुमाथि प्रहरीले गरेको दुव्यर्ववहारको घटनाप्रति प्रेस चौतारी नेपाल रुपन्देहीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
चौतारीका अध्यक्ष लक्ष्मण पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गरी समाचार संकलन गर्ने क्रममा प्रहरीले गरेको ज्यादती निन्दनीय मात्र नभई कारवाहीयोग्य भएको बताएका छन् । ‘इलाका प्रहरी कार्यालय बुटवल अगाडि भइरहेको प्रदर्शनको फोटो खिच्ने क्रममा प्रेस चौतारी नेपाल रुपन्देहीका कोषाध्यक्ष दिनेश श्रेष्ठ, सचिवालय सदस्य डिबि सुस्लिङ र संगठनका शुभेच्छुक पत्रकार शरण कर्माचार्यमाथि प्रहरीले शुक्रबार दिउँसो ज्यादती गरेको हो । एकजना महिलाको मृत्युको विषयलाई लिएर भैरहेको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा प्रहरीले गरेको ज्यादती निन्दनीय मात्र नभई कारवाहीयोग्य छ ।’– विज्ञप्तिमा भनिएको छ ।
रुपन्देहीको तिलोत्तमामा बुधबार राति शंकास्पद मृत्यु भएकी २९ वर्षीया अमृता खत्री टण्डनको हत्या भएको दावी गर्दै आफन्त र स्थानीयबासिन्दाले छानबिनको माग राखेर प्रहरी कार्यालय अघि गरेको प्रदर्शनको समाचार संकलन गर्ने क्रममा ग्लोबल आवाजका समाचार संयोजक सुस्लिङसहित खबरकुरा डट कमका प्रबन्ध सम्पादक शरणकुमार कर्माचार्य र सम्पादक दिनेश श्रेष्ठमाथि दुव्यर्ववहार भएको थियो । पत्रकार माथि इलाका प्रहरी कार्यालय बुटवलका वरिष्ठ सई बाबुराम घिमिरेले दुर्व्यवहार गरेका हुन् ।
प्रतिक्रिया