ताजा अपडेट »

एपीएफको पहिलो जित, पुलिस प्रतियोगिताबाट बाहिर

मंगलबार, २९ चैत्र २०७८

भैरहवा । भैरहवामा जारी प्रो क्लब च्याम्पियनसिपमा शसस्त्र प्रहरीले पहिलो जित निकालेको छ । प्रदिप ऐरी र दिपक बोहरा चम्किए पछि एपिएफले सान्त्वना जित निकालेको छ । प्रतियोगितामा समूह बी मा रहेको एपिएफ ३ खेलमा २ मा पराजय ब्यहोर्दै तेश्रो स्थानमा रहेको छ।

आज भएको पहिलो खेलमा एपीएफले ट्यालेन्ट हन्ट क्रिकेट एकेडेमी, बंगलादेशलाई ७ विकेटले पराजित गरेको छ । भैरहवा स्थित सिद्धार्थ रंगशालामा एपीएफले जितका लागि पाएको १ सय २६ रनको विजयी लक्ष्य १९ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको जितमा कप्तान प्रदीप ऐरी ५८ बलमा ६ चौकासहित ५४ रनमा अविजित रहे । ओपनर दीपक बोहराले ३८ बलमा ५ चौका र १ छक्कासहित ४२ रन जोड्दै राम्रो सुरुवात गरेका थिए । आयुष्मान बम ९ र सन्दीप जोरा १० रनमा आउट भए ।

त्यस अघि टस जितेर पहिला ब्याटिङ रोजेको एकेडेमीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २५ रन बनाएको थियो । उसका लागि असदुरजमान बरेनायोले ३४ बलमा ४ चौकासहित ३० रन बनाए । शरियारे रिमन २२, अबिदुर कैफ १६, राज बम २१ र आशिष रत्नमले १९ रन बनाए । एपिएफका भुवन कार्की र प्रदीप ऐरीले समान २–२ विकेट लिए ।

अर्को खेलमा मलेसिया क्लब–११ ले नेपाल पुलिस क्लबलाई १ विकेटले पराजित गरेको छ । योसँगै पुलिस ३ खेल जितबिहीन हुँदै समूह चरणबाट नै बाहिरिएको छ । जितको लागि १ सय रनको विजयी लक्ष्य पछ्याएको मलेसियाले १७ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । मलेसियाको जितमा नाजरिल रहमानले २८ बलमा ५ चौकासहित सर्वाधिक २७ रन बनाए । सैद अजिज १३, शार्विन मुनीआन्दी १८ र मोहम्मद वाफिकले ११ रन बनाए ।

अन्तिम विकेटका लागि मुनीआन्दीले वाफिकसँग २० रनको अविजित साझेदारी गरेका थिए । पुलिसका पवन सरार्फले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ३ विकेट लिए । सागर ढकाल, करण केसी, मञ्जित श्रेष्ठ र गुलशन झाले १–१ विकेट लिए ।

त्यसअघि सिद्धार्थ रंगशाला टस हारेर पहिला ब्याटिङ गरेको पुलिस १९ दशमलव ४ ओभरमा ९९ रनमा अल आउट भयो । पुलिसका प्रेम तामाङले ३१ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक २८ रनमा अविजित रहे । ओपनर पवन सरार्फले १४ बलमा ३ चौका र २ छक्कासहित २५ रन बनाए । शंकर राना १०, करण केसी ४, दीलिप नाथ शून्य, अर्जुन साउद ४ र सागर ढकालले २४ बलमा १४ रन जोडे । मलेसियाका सैद अजिजले ४ ओभरमा १ मेडनसहित १५ रन खर्चेर ५ विकेट लिए ।

शार्विन मुनीआन्दीले ४ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिए । समूह ए मा रुपन्देही–११, २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । मलेसिया ३ खेलमा २ मा जित र १ मा हारसहित दोस्रो स्थानमा छ । रुपन्देहीले बुधबार पुश स्पोर्ट्स दिल्लीसँग खेल्नेछ । उक्त खेलमा रुपन्देही विजयी भएमा मलेसिया सेमिफाइनलमा पुग्नेछ । रुपन्देही पराजित भएमा दिल्ली र मलेसियाको नेटरनरेटमा निर्भर रहनेछ ।