ताजा अपडेट »

किशोरमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सांसद दोषी ठहर

मंगलबार, २९ चैत्र २०७८

काठमाडौँ । १५ वर्षे किशोरमाथि यौन अपराध गरेको आरोपमा दोषी ठहर भएपछि बेलायतको वेकफिल्डका सांसद अहमद खानलाई कन्जर्भेटिभ पार्टीबाट निष्कासन गरिएको छ ।

उनीमाथि जनवरी सन् २००८ मा स्ट्याफोर्डसायरमा आयोजित पार्टीमा एक किशोरमाथि यौन हिंसा गरेको आरोप लागेको थियो । उक्त आरोपलाई उनले अस्वीकार गर्दै आएका थिए । यद्यपि, उनी अनुसन्धानको क्रममा दोषी ठहर भए । साउथवार्क क्राउन कोर्टले बताए अनुसार उनले ती किशोरलाई जिन खान बाध्य बनाएको, तत्पश्चात् भर्‍याङमा घिसार्दै माथि लगेको र उनीमाथि यौन हिंसा गर्नुअघि पोनोग्राफी हेर्न लगाएका थिए ।

बीबीसीका अनुसार ४८ वर्षीय खानले आफ्नो सजायको पुनरावेदन गर्न चाहेको बताएका छन् । अदालतको आदेशपछि कन्जर्भेटिभ पार्टीले सन् २०१९ मा वेकफिल्डका लागि टोरी सांसदका रुपमा निर्वाचित खानलाई तत्काल प्रभावका साथ निष्कासित गरिएको जानकारी दिएको छ ।

लेबर पार्टी र केइग्लेका कन्जरभेटिभ सांसद रोबी मूरले खानलाई राजिनामा दिन भनेका छन् । हाल २९ वर्ष पुगिसकेका उजुरीकर्ताले आफूमाथि भएको आक्रमणले उनलाई तर्साएको र स्तब्ध बनाएको बताएका छन् । अदालतसामू पेश गरिएको प्रमाणमा बताइए अनुसार खानले उनलाई बिस्तारै सुम्सुम्याउन थालेको र ‘नगर’ भन्दाभन्दै पनि जबर्जस्ती गरिरहेका थिए ।

‘उनको सास फुल्न थालेको थियो । मैले उनको हात निकालिरहेँ तर उनले त्यसो गर्न छोडेनन्,’ उनले भने । अदालतको बयानमा त्यतिबेला प्रहरी बोलाइए पनि किशोरले मुद्दा अघि बढाउन नचाहेको बताइएको छ । नाम गोप्य राखिएको व्यक्तिले सन् २०१९ मा आम चुनावमा खान उम्मेदवार भएको थाहा पाएपछि कन्जरभेटिभ पार्टीलाई सम्पर्क गरेका थिए ।

खान संसदमा निर्वाचित भएपछि उनले प्रहरी बोलाए । यता खानले भने ती किशोर आफ्नो भ्रमित लैङ्गिकता बारे कुरा गरेपछि अत्यन्त विचलित भएपछि आफूले उनको कुहिनो मात्रै छोएको बताएका थिए । करिब पाँच घण्टाको छलफलपछि सांसदलाई दोषी ठहर गरिएको हो ।-एजेन्सी