ताजा अपडेट »

कडा सुरक्षाबीच श्रीलंकाली नागरिक राष्ट्रपतीय निर्वाचनमा सहभागी हुँदै

शनिबार, ३० कार्तिक २०७६

कार्तिक ३०,

काठमाडौँ ।श्रीलंकाली नागरिकले नयाँ राष्ट्रपतिका लागि आज मतदान गर्दैछन् । श्रीलंकामा शनिवार नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन भइरहेको छ। निर्वाचनमा ३५ जना उम्मेदवारहरू मैदानमा उत्रेका छन् । आजको निर्वाचन सन् २००९ मा दशकौँ लामो गृहयुद्ध अन्त्य भएपछिको तेस्रो निर्वाचन हो।

शनिबारको निर्वाचनमा दुईजना उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने समाचार माध्यमले जनाएका छन् । पूर्व राष्ट्रपति महिन्दा राजापाक्षका भाइ गोटाबाया राजापाक्ष र सजिथ प्रेमादसाबीच कडा प्रतिस्पर्धा हुने बताइएको छ । तर चुनावी दौडमा भने वर्तमान राष्ट्रपति मैत्रीपाल सिरिसेना सहभागी छैनन्। इस्टर पर्वका बेला भएका हमलालगत्तै तीव्र आलोचना भएपछि उनी चुनावमा नउठेका हुन् । सात महिनाअघि इस्लामिक स्टेट समूहसँग सम्बद्ध व्यक्तिहरूले श्रीलङ्काका गिर्जाघर र होटलहरूमा शृङ्खलाबद्ध विस्फोटन गराउँदा कम्तीमा २५३ व्यक्तिको मृत्यु भएको थियो । सरकारले उक्त हमला गुप्तचरी कमजोरका कारण रोक्न नसकिएको समेत बताएका थियो ।भारतीय गुप्तचर निकायबाट हमलाका योजनाबारे सूचनाहरू आएपनि सम्बन्धित अधिकारीहरूले त्यसलाई गम्भीर रूपमा नलिएको त्यहाँका रक्षामन्त्रीले बताएका थिए। श्रीलंका पछिल्लो पटक आतंकवादी आक्रमणको तारो बन्दै आएको छ । त्यसैले मतादान केन्द्रमा कडा सुरक्षा व्यवस्था गरिएको समाचारमा बताइएको छ ।- एजेन्सी