ताजा अपडेट »

प्रथम महिला खुल्ला कबड्डी प्रतियोगिताको उपाधि कञ्चनलाई

आइतबार, २७ चैत्र २०७८

बुटवल । बुटवलमा सञ्चालित उपमेयरकप अन्तरपालिका महिला प्रथम खुल्ला कबड्डी प्रतियोगिताको उपाधि कञ्चन गाउँपालिकाले हात पारेको छ । शनिबार न्यू होराइजन मावि कालिकानगरमा भएको फाइनल प्रतिष्पर्धामा न्यू होराइजन स्पोर्टस क्लबलाई पराजित गरी कञ्चनले उपाधि चुमेको हो ।

कञ्चनले ३५ र होराइजनले ३२ स्कोर ल्याए । त्यस्तै प्रतियोगितामा बुटवल उपमहानगरपालिका र सियारी गाउँपालिका तृतीय भएका छन् । विजेता कञ्चनले २० हजार, द्धितीय होराइजनले १२ हजार र बुटवल र सियारी ७÷७ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा ६ टिमले भाग लिएको न्यू होराइजन स्पोर्टस क्लबका अध्यक्ष प्रकाश खनालले जानकारी दिए ।

विजेता टिमलाई नेकपा एमाले सचिव तथा पूर्व मन्त्री छविलाल विश्वकर्माले पुरस्कार वितरण गरे । सो अवसरमा बोल्दै राज्यले खेल क्षेत्रमा प्रोत्साहन गर्न आवश्यक रहेको बताए । उनले खेल क्षेत्रको विकासको लागि आफूले सक्दो सहयोग गर्ने बताए । बुटवल उपमहानगरपालिका खेलकूद विकास समितिको आयोजना र न्यू होराइजन स्पोर्टस् क्लब व्यवस्थापनमा प्रतियोगिता गरिएको थियो ।

कार्यक्रममा न्यू होराइजन स्पोर्टस क्लबका सल्लाहकार बालकृष्ण भण्डारी, खेल संयोजक महेन्द्र सुनार, न्यू होराइजन स्पोर्टस् क्लबका लेखा प्रमुख लिला खनाल लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन क्लबका सचिव प्रकाश गौतमले गरेका थिए ।