कार्तिक ३०,
काठमाडौँ । चिनी रोगका रूपमा चिनिने मधुमेह उमेर ढल्कँदै गएपछि लाग्ने विश्वास गरिन्थ्यो तर वीर अस्पतालको मधुमेह बहिरङ्गमा दिनहुँ जसो बालबालिका र युवासमेत मधुमेह उपचारकै लागि आउने गर्छन् । दुई वर्षदेखि १५ वर्षसम्मका बालबालिका पनि वीर अस्पतालको मधुमेह एकाइमा आउने गरेका छन् ।
यसले देखाउँछ अब चिनी रोग सबै उमेरका मानिसमा नछोड्ने रोग बनिसकेको छ । वीर अस्पतालका वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. दीपक मल्लले दुई वर्षको बालकलाई समेत मधुमेह भएको जानकारी दिँदै मधुमेह उमेर वृद्धिसँंगै हुन्छ भन्ने गलत धारणा फैलिरहेको बताए । उनले ३० वर्ष कटिसकेपछि अनिवार्य मधुमेह भए नभएको परीक्षण गर्न सुझाव दिए । केही दिन पहिले मैतीदेवी घर भएका एक १४ वर्षीय किशोर मधुमेह लागेर उपचारमा वीर अस्पतालमा गएका थिए । उनी उहाँ नियमित चिकित्सकको निगरानीमा हुन्थीय । ९५ किलो तौल भएका १४ वर्षीय किशोर मधुमेहको औषधि सेवन गर्न थालेको दुई वर्ष भइसक्यो । तर उनको त तौल घट्न सकेको छ न मधुमेह नै नियन्त्रणमा आउन सकेको छ । ती किशोर मात्र मात्र होइन वीर अस्पतालमा दुई वर्षका बालकसम्म मधुमेह लागेर आउने गरेको डा. मल्लले जानकारी दिए । उनका अनुसार मधुमेह लाग्ने मानिसको सङ्ख्यामा समेत वृद्धि हुदैँ गएको छ । उमेर ढल्कँदै गएका मात्र होइन, बालबालिकादेखि युवासम्मलाई मधुमेहले सताउन थालेको छ । गलत खानपान र सहरी जीवन मधुमेहको प्रमुख कारण बन्दै गएको छ ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठले मानिसको शरीरमा चिनीको मात्रा बढी भएमा मधुमेह रोग लाग्ने बताइन् । उनले मधुमेहलाई नियन्त्रणमा राख्न नसकेको अवस्थामा पहिलो चरणमा आँखामा समस्या र त्यसपछि मिर्गौलामा असर पार्ने जानकारी पनि दिए । डा. श्रेष्ठका अनुसार, पटक पटक पिसाब लाग्ने, मुख सुक्ने, पानीको प्यास लाग्ने, तौल घट्ने, थकान महसुुस गर्ने, शरीरमा घाउचोट देखिने तर निको नहुने मधुमेहका प्रमुख लक्षण हुन् । विश्व स्वास्थ्य सङ्गठनका अनुसार नेपालमा चार प्रतिशत जनसङ्ख्यामा मधुमेह रहेको छ । मधुमेह रोग विशेषज्ञ डा. मल्लले टाइप एक र टाइप दुई गरी मधुमेह दुई प्रकारका हुने जानकारी दिए । टाइप एक कम उमेरमा देखिन्छ भने टाइप दुई विशेषगरी ४० वर्षमाथि उमेर समूहलाई हुन्छ । टाइप दुई मधुमेह जटिल हुँदै जाँदा इन्सुलिन लगाउनुपर्ने अवस्था आउने चिकित्सक बताउँछन् । वरिष्ठ मधुमेह रोगविशेषज्ञ डा. ज्योति भट्टराईले कतिपय परिवारका कुनै न कुनै सदस्य मधुमेहबाट पीडित हुने गरेको बताए । उनले मधुमेह भएका परिवारले एउटै किसिमको खाना खानुपर्ने तथा जटिल हँुदै गएको मधुमेहलाई रोक्न परिवारले सहयोग गर्नुपर्ने बताए ।
डा. भट्टराईले बढी तौल भएका मानिसमा सामान्य तौल भएका मानिसभन्दा बढी मधुमेह देखिने गरेको जानकारी दिए । उनले धेरै चिन्ता गर्ने व्यक्तिलाई पनि मधुमेहले सताउन सक्ने भन्दै मधुमेहबाट जोगिनसके मिर्गौला रोग, मुुटुरोग, आँखालगायतका रोगबाट बच्न सकिने बताए । वातावरणीय प्रभाव, जङ्कफुड खाने बानी, सहरीकरण खानाको तरिका नमिल्ने, मोटोपन नै मधुमेह लाग्ने मुख्य कारकतत्व रहेको डा. भट्टराईको भनाइ छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा १७ करोड १० लाख मानिसमा मधुमेहको समस्या छ । मधुमेह रोग वंशाणुगत रूपमा समेत लाग्ने भन्दै डा. भट्टराईले मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि हुनसक्ने बताए ।उनले अधिकांश मधुमेह रोगीहरूलाई आफूलाई रोग लागेको पत्तो नहुने भएकाले समय समयमा स्वास्थ्य परीक्षण गरिरहन सुझाव दिए । - गोरखापत्र अनलाइन
प्रतिक्रिया