ताजा अपडेट »

तिनाउलाई पूर्ण सरसफाई गाउँ बनाउन तालिम सञ्चालन

शुक्रबार, २९ कार्तिक २०७६

कार्तिक २९,
ग्लोबल आवाज
बुटवल । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा पाल्पाले खाने पानी सरसफाई तथा स्वच्छता कार्यक्रम सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । तिनाउ गाउँपालिका भित्रका ३० जना प्रशिक्षकहरुलाई पूर्ण सरसफाई गाउँपालिका घोषणा गर्न प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरिएको तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्ति मगरले बताए । तालिममा पूर्ण सरसफाई किन ?, पूर्ण सरसफाई मार्गदर्शन २०७३, सरसफाईका सूचकहरु, चर्पीको प्रयोग, सुरक्षित पानी, खानाको स्वच्छता, साबुन पानीले हात धुने अभ्यास, सौचालयको उचित प्रयोग लगायत प्रयोगात्मक तालिम दिइएको थियो ।

तालिममा सञ्चालक कृष्ण सुवेदी, सरसफाई शाखा देपुटी डाइरेक्टर अम्मर मणी पौडेल, सु–आहारा कार्यक्रम संयोजक जगबहादुर घर्तिमगर तथा वरिष्ठ लेखा अधिकृत तिलक श्रेष्ठ लगायतले सहजीकरण गरेका थिए । तिनाउ गाउँपालिकालाई आगामी एक वर्षभित्र पूर्ण सरसफाई गाउँपालिका घोषणा गर्न नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखा र तिनाउ गाउँपालिकाले आर्थिक तथा जनशक्ति परिचालन गर्ने र सु-आहारा कार्यक्रमले प्राविधिक सहयोग गर्ने रेडक्रस सोसाइटी पाल्पा शाखाका अध्यक्ष वुद्धीप्रसाद शर्माले बताए ।

पाल्पाको तानसेन नगरपालिकामा ४ दिनसम्म सञ्चालन गरिएको तालिमको समापन समारोहमा रेडक्रसका मन्त्री केशव पौडेल, कोषध्यक्ष भिमसेन कार्की, तिनाउ उप शाखाका प्रमुख अम्मर प्रधान, प्रशिक्षार्थीहरु गँगा पुन र हरिकला कुमालले आफ्नो विचार व्यक्त गरेका थिए । शाखा अध्यक्ष वुद्धीप्रसाद शर्माको सभापतित्वमा भएको समारोहको सञ्चालन परियोजना अधिकृत गँगा श्रीसले गरेकी थिइन् ।