ताजा अपडेट »

खेलकुदमार्फत दिगो विकास र शान्तिको अभियान, लुम्बिनीमा वाकाथुन

विहीबार, २४ चैत्र २०७८

बुटवल  । नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय खेलकुद दिवसको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनीमा वाकाथुन र द्विप प्रज्वलन गरि मनाएको छ । लुम्बिनी प्रदेश सरकार, लुम्विनी विकास कोष, प्रदेश खेलकुद परिषद्को विशेष सहयोगमा बिभिन्न स्वदेशी तथा विदेशी बिहारका भिक्षुहरुको उपस्थितीमा विश्व शान्तिको लागि प्रार्थना गरि कार्यक्रम शुरु भएको थियो। विश्व भर अप्रिल ६ (चैत्र २३) का दिन विकाश र शान्तिको लागी अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइदै आएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल बहादुर केसीले मायादेवी मन्दिर परिसरमा दिप प्रज्वलन गरेका थिए। लुम्बिनीलाई खेलसँग जोडेर पर्यटन विकासमा टेवा मिल्न सक्ने सम्भावना भएको भन्दै यसमा सबै सरोकारवाला संघसंस्थाहरु सहकार्य गरि अघि बढ्नुपर्ने उनले सुझाव दिए। प्रदेश सरकार सहकार्य गरी दिर्घकालिन रुपमा अघि बढ्ने उनले बताए। कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले यो वर्षबाट लुम्बिनीमा कार्यक्रम गरि मनाउन लागेको बताए । सन २०१३ मा संयुक्त राष्ट्र संघले पारित गरे अनुसार शान्तिसँग जोडेर खेलकुद दिवस मनाउन थालिएको भन्दै नेपालमा यो वर्ष लुम्बिनीमा शुरुवात भएको उनले बताए। 'खेलकुदमार्फत दिगो विकास र शान्तिको कामना नै मुल उदेश्य हो ।' उनले भने।

बुद्घकालमा पनि खेलकुदलाई विशेष महत्व पाएको बुद्घपुस्तकहरुमा उल्लेख भएको दाबी गर्दै उनले मार्सल आर्टको तत्कालिनसमयमा भएको बताए। संयुक्त राष्ट्रबाट खेलकुद र शान्तिलाई जोड्ने अभियानमा बुद्घजन्मस्थल उपयुक्त थलो भएको उनको दाबी छ। ओलम्पिक कमिटिले यो स्थानलाई छनौट गर्नुको कारण शान्ति र बुद्घ जन्मस्थलसंग जोडेको छ। दुई वर्षदेखि कोभिड १९ कै कारण पछि परेको उनले बताए। २ सय ७ वटा राष्ट्रहरुलाई स्वागत गरेर कार्यक्रम गर्ने सोच बनाएको भए पनि त्यो अधुरो भएको उनले बताए। आगामी दिनमा भब्यरुपमा कार्यक्रम गरिने उनले बताए।

लुम्बिनी खेलकुद विकास परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलकुदलाई पर्यटनसंग जोड्ने गरि यो वर्षदेखि ओलम्पिक कमिटिसंग सहकार्यमा कार्यक्रम भब्य रुपमा गरिएको बताए। प्रदेशको वार्षिक क्यालेन्डरमा राखेर यसलाई निरन्तरता दिने उनले बताए। आगामी वर्षदेखि योसंगै लुम्बिनीमा थप बृहत खेलकुद कार्यक्रम गर्ने तयारीमा रहेको उनले बताए। बुद्घको ठाउबाट धार्मिक, ऐतिहासिक, पर्यटकियका साथै खेलकुदसंग जोडेर विश्वभरका खेलकुद र पर्यटनको प्रचार गर्न सकिने उनले बताए।

लुम्बिनी बिकाश कोषका उपाध्यक्ष भिक्षु मेत्ताले बुद्घको उपदेशलाई खेलसंग जोडेर गरिएको कार्यक्रम निक्कै फलदायी भएको बताए। नेपाल ओलम्पिक कमिटीका कार्यकारी सचिब सुजन लाल श्रेष्ठले विश्वभरका खेलाडी र खेलप्रेमीहरुलाई जोड्ने ओलम्पिकको भावना अनुसार देशका मुख्य शहरहरुमा कार्यक्रम गरिदै आएको बताए। शान्ति दिपबाट शुरु भएको वाकाथन लुम्बिनी नहर हुँदै मायादेवी मन्दिर परिसरमा पुगेर दिप प्रज्वलन गरि भब्य रुपमा मनाईएको थियो।