ताजा अपडेट »

पश्चिम नवलपरासीमा साना दलहरुसंग चुनावी तालमेलका लागि एमालेको तयारी

विहीबार, २४ चैत्र २०७८

परासी । नेकपा एमाले पश्चिम नवलपरासीले सत्ता बाहिर रहेका साना दलसँग गठबन्धन गर्ने तयारी गरेको छ । सत्तारुढ दलहरु आसन्न स्थानीय तहको चुनावमा गठबन्धन गरेर जाने तयारी गरेपछि एमालेले पनि साना दलहरुसँग गठबन्धनको तयारी गरेको हो ।

लोकतान्त्रीक समाजवादि पार्टी लोसपासँग गठबन्धनका विषयमा छलफल भईरहेको एमाले नेताहरुले बताएका छन् । लोसपासँग रामग्रामसहित अन्य स्थानीय तहमा गठबन्धन गरेर पद बाँडफाड गरी चुनाव लड्ने तयारी एमालेले गरेको छ । एमाले पोलिट्व्युरो सदस्य तथा लुम्बिनी प्रदेश सहईन्चाज वैजनाथ चौधरीले मुलत एमाले एक्लै चुनाव लड्न सक्षम भएपनि आवश्यकता अनुसार विभिन्न पालिकामा गठबन्धन हुने बताए । चौधरीले लोसपा सहित अन्य साना दलसँग पनि गठबन्धनको विषयमा छलफल भईरहेको जानकारी दिए ।

जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको असन्तुष्ट पक्षसँग गठबन्धन गरी चुनाव लड्ने चौधरीको भनाई छ । त्यसका लागि आन्तरिक छलफल भईरहेको बताउँदै चौधरीले नवलपरासीका अधिकांश स्थानीय तहमा एमाले एक्लै बलियो भएकाले सत्ता गठबन्धनले खासै असर नगर्ने बताए । अहिले जिल्लामा सयौँ मानिसहरु एमाले प्रवेश गरिसकेको बताउँदै उनले पार्टि फुटको भरपाई भईसकेको दाबी गरे ।

एमालेसँग नजिक मानिएको लोसपाले भने गठबन्धनका विषयमा अझै अन्तिम टुङ्गो लाग्न बाँकि रहेको जनाएको छ । लोसपा नेपालका नवलपरासी अध्यक्ष मुकुरजी गिरीले एमालेसँग नजिक भए पनि गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा टुङ्गो लाग्न बाँकी रहेको बताए । 'सत्तारुढ दलको पाँच दलीय गठबन्धन भएपछि हामी पनि आन्तरिक छलफलमै छौ विभिन्न चरणमा छलफल भए पनि अन्तिम निचोडमा पुग्न बाँकी छ ।'- अध्यक्ष गिरीले भने। नवलपरासीमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि दलहरु आन्तरिक तयारीमा व्यस्थ छन् ।