ताजा अपडेट »

स्थानीय निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरुले भोट माग्न नपाउने

बुधबार, २३ चैत्र २०७८

काठमाडौँ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रधानमन्त्री र मन्त्रीहरुले भोट माग्न नपाउने भएका छन् ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता-२०७८ ले प्रधानमन्त्री, मन्त्री वा सार्वजनिक पद धारण गरेको कसैले पनि आफ्नो पार्टी वा पार्टीको उम्मेदवार वा अन्य उम्मेदवारका लागि भोट माग्न नपाउने व्यवस्था गरेको हो ।

आचारसंहिताको यो व्यवस्थाबमोजिम आसन्न निर्वाचनमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री एवम् सार्वजनिक पद धारण गरेको व्यक्तिले चुनावी सभामा भाग लिन र उम्मेदवारको लागि भोट माग्न पाउने छैनन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले निर्णय गरेर आचारसंहिता जारी गरेको र त्यसमा दलहरूले समेत प्रतिबद्धता जनाइसकेको बताएका छन्। आयोगले मंगलबारमात्रै निर्वाचनमा भाग लिन दर्ता भएका ७९ वटा दललाई आचारसंहिता कार्यान्वयनका लागि प्रतिबद्धता लिन बोलाएको थियो ।