बुटवल । आर्थिक बृद्धिका नाममा कर्जा विस्तार अत्याधिक हुँदा अहिले अर्थतन्त्रमा समस्या देखिएको पूर्व गर्भनर डा.चिरजिवी नेपालले बताए ।
केन्द्रिय बैङ्कको मौद्रिक नीतिमै १९ प्रतिशत भन्दा बढी कर्जा विस्तार गर्न नहुने व्यवस्था रहे पनि नेपालको अर्थतन्त्रको इतिहासमा सबै भन्दा धेरै ३२ प्रतिशतसम्म कर्जा विस्तार भएको पूर्व गर्भनर नेपालले बताए। राष्ट्रिय आर्थिक संकट रोक्नका लागि सबै दलसँगै बसेर समस्या समाधान गर्न अग्रसर नहुनु दुःखद भएको नेपाल राष्ट्र बैङ्कका पूर्व गर्भनर डा.चिरजिवी नेपालले बताए।
बुधबार रिपोर्टस क्लब लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेपालले सहज र सजिलो रुपमा कर्जा पाएपछि विभिन्न क्षेत्रमा आफ्नो इच्छा र छिट्टो फाइदा हुने ठाउँ सेयर बजार, जग्गा लगायतका क्षेत्रमा लगानी हुँदा सोही अनुसारको उत्पादन बजारमा आउन नसक्दा अर्थतन्त्रमा समस्या देखिएको बताए ।
‘सहज र सजिलो रुपमा व्यक्तिहरुले पैसा पाएपछि विभिन्न क्षेत्रमा आफ्नो इच्छा अनुसार छिट्टो फाइदा हुने ठाउँमा चाहे त्यो सेयर बजार होस, जग्गा, विदेशबाट आयात गरेर होस या विभिन्न तरिकामा लगानी भए । त्यो लगानी भइसकेपछि जुन रुपमा बजारमा आउनु पर्ने हो आउन सकेन । त्यसपछि अर्थतन्त्रमा समस्या देखियो । ’–उनले भने ।
साथै केही समय धरमराएको अर्थतन्त्र भने अहिले लयमा फर्किन लागेको बताए । पछिल्लो एक डेढ महिनामा ४७ हजार पर्यटक नेपाल आएको र रेमिटेन्समा पनि बृद्धि भएकाले अर्थतन्त्रमा केही सहजता देखिएको बताए । नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै संकटमा भने नजाने बताए । सो कार्यक्रममा बोल्दै अर्थशास्त्री रामचन्द्र आचार्यले उत्पादमा बृद्धि नहुनु, रोजगारीको अवस्था सृजना हुन नसक्नु र विदेशी मुद्राको सञ्चित कम हुँदै गएकाले अर्थतन्त्रमा समस्या देखिएको बताए ।
कृषिमा आधारित भएको अर्थतन्त्र भएको देशमा अबौँको कृषिजन्य साम्रगी आयात हुनु दुःखद भएको बताए । यस्तै वरिष्ठ पत्रकार डा.बालकृष्ण चापागाईले कोरोना महामारीको समस्यामा आर्थिक संकट देखा नपरे पनि अहिले देखा पर्नु दुःखद भएको बताए । मंहगीको अवस्था पनि यहि अवस्थामै बढ्दै जाने हो भन्ने यसले ठूलो संकट निम्ताउने बताए ।
प्रतिक्रिया