ताजा अपडेट »

कंगोमा नेपाली शान्ति सैनिकमाथि विद्रोहीको आक्रमणः ज्यान गुमाउनेको पहिचान खुल्यो

बुधबार, २३ चैत्र २०७८

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत रहेका बेला विद्रोहीको आक्रमणमा परी मृत्यु भएका शान्ति सैनिकको परिचय खुलेको छ ।

नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार ज्यान गुमाउनेमा सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङ रहेका छन् । सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको अपरेसन ‘बाली’काे खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि अज्ञात स्थलबाट विद्रोहीबाट भएको फायरमा मंगलबार मिशनमा कार्यरत ती शान्ति सैनिक घाइते भएका थिए । त्यसलगत्तै घाइते सैनिकलाई हेलिकप्टरमार्फत् उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेकाे थियाे । 

उक्त घटनाप्रति संयुक्त राष्ट्रसंघले निन्दा ब्यक्त गरेको छ ।  राष्ट्रसंघका महासचिवले एक विज्ञप्ति जारी गर्दै मृतक शान्ति सैनिकका परिवारका साथै नेपाल सरकार र नेपाली जनताप्रति समवेदना प्रकट गरेका छन् । शान्ति सैनिकहरूमाथि आक्रमण युद्ध अपराध हुने बताउँदै उनले घटनाको छानबिन गरी दोषीलाई छिटोभन्दा छिटो कानुनी कठघरामा ल्याइदिन कंगोली अधिकारीलाई आग्रह पनि गरेका छन् ।