ताजा अपडेट »

भैरहवामा मूल बाटो छेकेरै पार्टीको आमसभा : प्रशासन मुकदर्शक, सिडियो निरिह

सोमबार, २१ चैत्र २०७८


भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी, रुपन्देहीले आज भैरहवामा आमसभा एवम् पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । आमसभा गर्नु नौलो कुरा हैन तर, राप्रपाले मेडिकल जाने मूल बाटो नै थुनेर आमसभा गर्न थालेपछि नगरवासीमा आक्रोश उत्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देही आयोजक रहेको आमसभाको लागि भैरहवा मेडिकल जाने मैत्रीपथको मूल बाटो नै पूर्ण रुपमा छेकिएको छ ।

पैदलयात्री समेत छिर्न नमिल्ने गरि बाटो बन्द गरे पछि मेडिकल कलेज जाने बिरामी मात्रै नभई त्यहा जाने स्वास्थ्यकर्मी, विद्यालयका विद्यार्थी, शिक्षक, सामान्य कामदार एवम् स्थानीय ब्यपारीहरु समेत नराम्ररी प्रभावित भएका छन्।

विद्यालय जाने बसहरु, एम्बुलेन्स, एवम अन्य कामदार अर्को बाटो प्रयोग गरि घुमेर गन्तब्यमा पुग्दा सम्म समयमा पुग्न सकिरहेका छैनन् । मूख्य बाटो नै बन्द गरिदिदा नगरवासीमा राप्रपा प्रति रोष उत्पन्न भएको छ । स्थानिय निर्वाचनको मुखमा रहेको राप्रपाले मतदाता लक्षित बिभिन्न योजनाहरु ल्याउँदा अहिले राप्रपाले गुण्डागर्दी शैली अपनाएको एक नगरवासीले आरोप लगाए । “ पार्टीले मण्डले शैली अपनाएको छ । जनताको पिर मर्काको चिन्तै छैन ।’ स्थानीयले चिन्ता ब्यक्त गरे ।

राप्रपाका जिल्ला उपाध्यक्ष अजय कुमार गुप्ताले भैरहवामा आमसभा गर्ने स्थान नभएकोले प्रशासनको अनुमतिमै बाध्य भएर बाटोमा आमसभा गर्न थालेको बताए । उनले यसको लागी जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयबाट लिखित अनुमति प्राप्त गरेको दाबी गरेका छन् ।

“यस अघि पनि बिभिन्न राजनैतिक दलले भैरहवाको ब्यस्त मिलन चोकमा कार्यक्रमहरु गरेका थिए । हामी मिलन चोकबाट दक्षिणतर्फ भिडभाड नहुने क्षेत्र रोजेका हौं ।” गुप्ताले भने “पार्टी कार्यालय नजिकै रहेको हुँदा आमसभामा आउने कार्यकर्ता एवम सर्वसाधारणलाई खानेपानी, शौचालय लगायतको अभाव हुन नदिन यो स्थानमा कार्यक्रम गरेका हौं । गुप्ताले भैरहवामा आमसभा गर्ने स्थल कमि भएको चिन्ता जताए । “हाम्रो कार्यक्रमले प्रशासनलाई विकल्प खोज्न दबाब पनि दिनेछ ।” उनले भने

राप्रपा रुपन्देही उपाध्यक्ष अजय गुप्ताले प्रशासनबाट अनुमति लिएको दावी गरिरहँदा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले कार्यक्रमको लागि कुनै किसिमको लिखत अनुमति नदिएको जानकारी दिए । ‘उहाँहरु मौखिक रुपमा जानकारी दिनु भएको थियो ।’ तिवारीले भने ‘बाटो छोडेर कार्यक्रम गर्न आग्रह गरेका थियौ, बाटोमै गर्न थाल्नु भएको छ ।’ बाटोमै कार्यक्रम गर्न थाले पछि जिल्ला ट्राफिक कार्यालयलाई भनेर रुट ब्यवस्थापन गरिएको तिवारीले जानकारी दिए ।

तिवारीको यो भनाइले नै उनि राजनीतिक दलहरुप्रति कति निरिह देखिएको स्पष्ट हुन्छ । जिल्लाको शान्ती सुरक्षा र स्थानियहरुको जिउधनको सुरक्षाको जिम्मेवारी रहेको जिल्ला प्रशासन कार्यालयले सामान्य नागरिकलाई दुख दिई राजनैतिक दललाई प्रश्रय दिन थालेको सञ्चारकर्मि समेत रहेको स्थानिय मनोरन्जन शर्माले फेसबुकमा असन्तोष ब्यक्त गरेका छन् ।

भैरहवाको ब्यस्त चोक मानिने मिलन चोकमा पनि यस अघि नेपाली कांग्रेस, एमाले, राप्रपा एवम अन्य मधेशवादी दलहरुले कार्यक्रम गरे पनि यात्रु तथा मेडिकल कलेज जाने बिरामीलाई असर नपर्ने गरि कार्यक्रमहरु आयोजन गर्ने गरेका थिए । तर अहिले राप्रपाले मूल बाटो पूर्ण रुपमा छेकेरै आमसभा गरेको छ ।

राप्रपाको आज हुने आमसभामा पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष धु्रव प्रधान, वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरा, केन्द्रीय सल्लाहकार समितिका संयोजक तथा पूर्वमन्त्री निरञ्जन थापा, पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगाएतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।