ताजा अपडेट »

यातायात क्षेत्रको समस्याप्रति सरकार गम्भीर नभएकाे आराेप, भाडा समायोजनकाे माग

शनिबार, १९ चैत्र २०७८

भैरहवा । यातायात क्षेत्रका समस्याप्रति सरकार गम्भीर नभएको यातायात व्यवसायीले गुनासो गरेका छन् ।  लुम्बिनी ट्रक यातायात व्यवसायी सघं सिद्धार्थनगरको १० औं साधारण सभा तथा पाँचौं अधिवेशनमा बोल्दै व्यवसायीले भारतीय गाडीले नेपालमा बोक्ने ओभरलोड रोक्नु पर्ने, भारतीय गाडीले ठूला डिजलका ट्यांकी बनाएर डिजल भरेर नेपालबाट भारत लैजानेलगायत अवैध काम गरोकिनु पर्ने माग गरेका छन् ।

क्षमताभन्दा बढी सामान लिएर नेपालमा नेपाली ट्रक हिँड्दा राज्यले कडाइ गरे पनि भारतीय ट्रकको ओभरलोडमा राज्य उदार रहेको व्यवसायीको गुनासो छ ।  राज्यले बेवास्ता गर्दा ट्रक यातायात क्षेत्र धराशायी भएको र व्यवसायी पलायन हुने अवस्थामा पुगेको उनीहरूले गुनासो गरे ।

पेट्रेलीयम पदार्थमा भारी मूल्य वृद्धि हुँदासमेत ढुवानीमा भाडा समायोजन नभएको भन्दै व्यवसायीले तत्काल भाडा बढाउन माग गरे । कार्यक्रममा बोल्दै नेपाल ट्रक यातायात व्यवसायी महासघंका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठले कोरोनाका कारण थला परेको यातायात क्षेत्र अहिले भाडा समायोजन नहुँदा थप समस्यामा परेको बताए । 

ट्रक व्यवसायीले गरेको योगदान राज्यले बुझ्न नसकेको भन्दै उनले कहिलेकाहीँ व्यवसायी एक नहुँदासमेत राज्यले आफूहरूलाई बेवास्ता गरेको बताए । भारतबाट आएका १५/२० वर्ष पुराना र क्षमताभन्दा बढी सामान लिएर आएका ट्रकलाई भन्सार बिन्दुमै रोक्नु पर्ने उनीहरूको माग छ । त्यस्तै नेपाल ट्रक यातायात व्यवसायी महासघंका निवर्तमान अध्यक्ष अर्जुन रानाभाटले भारतीय गाडी भन्सारबाट सिँधै सामान लिएर नेपालका कुना कुनामा पुग्दा नेपाली ट्रक भने समान नपाएर बस्नुपर्ने बाध्यता रहेको बताए । 

यस्तो अवस्थामा राज्यले भन्सारसम्म मात्र भारतीय गाडीलाई इजाजत दिएर नेपालमा नेपाली गाडीलेनै बोक्ने वातावरण मिलाउनु पर्ने माग गरे । महासघंका वरिष्ठ उपाध्यक्ष लोकराज पोखरेलले नेपालभित्र ढुवानी गर्न नेपाली व्यवसायी  सक्षम रहेको भन्दै राज्यले त्यही अनुसारको नीति बनाउनु पर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै लुम्बिनी ट्रक यातायात व्यवसायी सघंका अध्यक्ष विष्णुप्रसाद खरेलले अविलम्ब भाडा समायोजनको माग गर्दै समायोजन भएको भाडा कार्यान्वयन हुनुपर्ने बताए ।