ताजा अपडेट »

लुम्बिनी महोत्सव सफल पार्न सहयोग गर्ने सरोकारवालाहरुको प्रतिवद्धता

विहीबार, २८ कार्तिक २०७६

कार्तिक २८,
ग्लोबल आवाज
भैरहवा । रुपन्देहीको भैरहवामा आगामी मंसिर ३ गतेदेखि १६ गते सम्म हुने पाँचौ लुम्बिनी पर्यटन प्रवद्र्धन, औद्योगिक व्यापार तथा कृषि महोत्सव-२०७६ लाई सफल बनाउन सरोकारवालाहरुले सहयोग गर्ने जनाएका छन् । “राष्ट्रिय उत्पादनको वृद्धि गरी पर्यटनको प्रवद्र्धन गरौं, राष्ट्रिय उत्पादनको प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा आत्मनिर्भर बनौं” भन्ने मुल नाराका साथ भैरहवास्थित अञ्चलपुरमा हुने मेलालाई सफल बनाउन उनीहरुले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

मेला सचिवालयमा आयोजना गरिएको सल्लाह–सुझाव बैठकमा बोल्ने सरोकारवालाहरुले नेपाल भ्रमण वर्ष-२०२० र लुम्बिनी भ्रमण वर्ष-२०७६ लाई केन्द्रीत गरेर मेलाको आयोजना गरिनु आफैमा महत्वपूर्ण भएको बताए । कार्यक्रममा बोल्दै प्रदेशसभा अन्तर्गत अर्थ, उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले मेला अस्थायी मण्डपमा आयोजना गरिँदा बढि खर्चिलो हुनुभएकोले स्थायी मण्डपको आवश्यकताबारे प्रदेश सरकार सँग पहल गर्ने बताए । उनले आयोजकले मेलास्थल प्रवेशमा २ घण्टा भए पनि निःशुल्क व्यवस्था गर्नु सकारात्मक भएको बताए । उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ लाई केन्द्रीत गरेर महोत्सव आयोजना गरिएको बताए । महोत्सवलाई सफल पार्न सबैको सहयोग आवश्यक रहेकोमा उनले जोड दिए । यस्तै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य तथा पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्ला खाँले कृषि सम्बन्धि स्टल राखेर त्यसभित्र कृषियन्त्र तथा उत्पादन राख्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ लेखा अधिकृत गणेश बहादुर क्षेत्री, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण प्रसाद शर्मा, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपाने, उद्योग व्यापार संगठन तिलोत्तमा शाखाका अध्यक्ष सत्यव्रत ज्ञवाली, लुम्बिनी ट्रक यातायात व्यवसायी संघका अध्यक्ष विष्णु खरेल, देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ, उद्योग व्यापार संघ देवदहका अध्यक्ष गणेश कुमार खाती लगायतले महोत्सवलाई सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताउँदै भारतले मिचेका नेपालका भुभागबारे जानकारीमूलक प्रदर्शनी महोत्सवमा राख्नुपर्ने सुझाव दिए ।