ताजा अपडेट »

बङ्गलादेशका राष्ट्रपति हमिद पोखरामा

विहीबार, २८ कार्तिक २०७६

कार्तिक २८,

ग्लोबल आवाज

कास्की । बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद पोखरा आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा चार दिवसीय भ्रमणअन्तर्गत पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्न आफ्नी धर्मपत्नीका साथ राष्ट्रपति हमिद बिहीबार पोखरा आएका हुन । काठमाण्डौबाट नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा राष्ट्रपति हमिद आएका हुन् ।

यो अवसरमा गण्डकी प्रदेशका प्रमुख अमिक शेरचन, प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपाली, सांसद खगराज अधिकारी, प्रदेशसभाका सभामुख नेत्रनाथ अधिकारी र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उनको स्वागत गरे ।

राष्ट्रपति हमिदले शुक्रबार बिहान ११ बजे काठमाडौंको चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गर्ने कार्यक्रम छ । त्यसपछि उनी शुक्रबार करिब पाँच बजे स्वदेश फर्किने छन् । राष्ट्रपति हमिद चारदिने नेपाल भ्रमणका लागि मंगलबार दिउँसो ढाकाबाट काठमाडौं आएका थिए । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न राष्ट्रपति भण्डारी आफैं पुगेकी थिइन् । बिदाइ गर्न पनि राष्ट्रपति भण्डारी नै जाने परराष्ट्र मन्त्रालयले जनाएको छ । -रासस