वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले मंगलबार सार्वजनिक गरेको २०२१ वल्र्ड एयर क्वालिटी रिपोर्टअनुसार नेपाल दशौं प्रदुषित मुलुकमा परेको छ । विश्वका प्रमुख १० प्रदूषित शहर मध्ये राजधानी सहरमा भने काठमाडौं छैटौं स्थानमा परेको छ ।
गत वर्ष नेपालमा वायु प्रदुषणको स्तर निकै बढेकोले केहि दिन विद्यालयहरु समेत बन्द गरिएको थियो । अहिले पनि उपत्यकामा वायु प्रदुषण उच्च भएको रिपोर्ट सार्वजनिक भएपछि काठमाण्डौंको चिन्ता गर्नेहरु मिडिया र सामाजिक संजालमा ह्वात्तै बढेका छन् । काठमाण्डांैको बारेमा चिन्ता बढेपनि मिनी नेपाल भनिने लुम्बिनी प्रदेशको वायु प्रदुषणको अवस्था बारेमा भने कतै चिन्ता गरको पाइएन ।
डब्लूएचओले वार्षिक औसत पीएम २.५ को मापदण्ड १० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ । नेपाल सरकारले तयार पारेको वायुको गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्ड २०६९ ले २.५ को ४० माइक्रोग्राम प्रतिघनमिटर र पीएम १० को मात्रा १ सय २० माइक्रोग्राम प्रतिघनमिटर तोकेको छ भने वायु प्रदुषणमा टीएसपीको मापदण्ड २३० कायम गरेको छ । धेरैजसो विकसित राष्ट्रहरूले टोटल सस्पेंडेड पार्टिकल्स ( टिएसपी) लाई नियमन नगरिकन पीएम१० लाई मात्र नियमन गरेका छन् ।
नेपालमा स्थलगत अध्ययनबाट वायुमा टिपिएस को मात्रा धेरै देखिएकोले यसलाई वायु गुणस्तर सम्बन्धी राष्ट्रिय मापदण्डमा समावेश गरेको छ । १० माइक्रोन वा सो भन्दा कम व्यास भएका कणहरूलाई पीएम १० भनिन्छ । यी कणहरू स्वास–प्रस्वास नलीको तल्लो भागसम्म पुग्न सक्छन्, जसले गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्दछ । धेरै सूक्ष्म कणहरू जसको व्यास २.५ माइक्रोन वा सो भन्दा कम छ, त्यस्ता कणहरूलाई पीएम २.५ अन्तर्गत राखिन्छ । यी कणहरू स्वाशप्रस्वाश नली हुँदै फोक्सोसम्म पुग्न सक्छन् । जाडोको समयमा हावामा यस्ता कणहरु वायु मण्डलको तल्लो सतहमा लामो समयसम्म अडिएर रहने भएकोले यो समयमा वायुमा तीनवटै कणहरुको मात्रा बढी हुने गरेको छ ।
लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, नेपालगञ्ज बढी मात्रामा औद्योगिकरण र यातायातका साधनहरु सञ्चालन भएका क्षेत्र हुन् । पश्चिम नवलपरासीको परासी क्षेत्र, भैरहवा– बेथरी क्षेत्र, बुटवल वरपरको क्षेत्र, कपिलवस्तुको कृष्णनगर क्षेत्र, दाङ्गको घोराही, बाँकेको नेपालगञ्जमा पछिल्लो समयमा औद्योगिकरण तिव्र भएको छ । यी क्षेत्रमा संचालित सिमेन्ट उद्योग, इट्टा कारखाना, ग्यारेज र शहरी फोहरमैलाले वायु दुषित हँुदै आएको छ ।
कहिलेकाही लुम्बिनी नजिकका कलकारखानाले गर्दा लुम्बिनी क्षेत्रको वायुको गुणस्तर खस्किएका आवाजहरु सुन्ने गरिएको छ । वायु प्रदुषणको कारणले लुम्बिनीमा पर्यटकहरुलाई असर पुगेको कुरा सुनिने भएपनि अन्य शहरी क्षेत्रको वायु प्रदुषणको चर्चा कमै हुन् गरको छ ।
लुम्बिनी प्रदेशका प्रस्तावित महानगर नेपालगञ्ज–कोहलपुर, घोराही–तुलसीपुर, बुटवल–भैरहवामा पछिल्ला वर्षहरुमा सडक निर्माण कार्यले तिब्रता पाएको छ । यहाँका सडकहरु विस्तार गर्ने कामले आवश्यक भन्दा लामो समय लने गरेको पाइन्छ । सडकहरु बनाउने र विस्तार गर्ने नाममा भत्काएर छोड्ने, लामो समयसम्म नबनाउने, सडक निर्माण गर्दा धुवाँ धुलो नियन्त्रणका उपयुक्त उपायहरु नअपनाउने गरिकेकोले प्रदेशका मुख्य नगर क्षेत्रमा प्रायजसो धुलो उडिरहेको देखिन्छ ।
बुटवल–भैरहवा,कोहलपुर–नेपालगंजको सडक करिब करिब पुरा भएपनि भैरहवा–लुम्बिनी , तानसेन–रिडी र घोराही–तुलसीपुर सडक समयमै पुरा हुन नसक्दा यी शहरहरुमा प्रायजसो धुलो उडिरहेको देखिन्छ । बुटवलभित्र आन्तरिक सडकहरु निर्माण भैरहेका छन्, सडक निर्माणमा सिघ्रता र सावधानी नअपनाउदा स्थानीयहरू धुले बस्तीमा वस्न बाध्य छन् । बुटवल–पाल्पा सडक अहिले धुलोमार्गमा परिणत भएको छ । यहि सडकको धुलो बुटवलको वायु मण्डलमा फैलिँदा बुटवलको वायुमा धुलो प्रशस्त बढेको छ । महेन्द्र राजमार्ग विस्तारको कामले गर्दा बर्दघाट, सुनवल र खैरेनी जस्ता साना सहरहरु धुलाम्य भैरहेका छन् ।
लुम्बिनी प्रदेशको को कूल भूभागको ५० दशमलव ४३ प्रतिशत अर्थात् ९ लाख ७४ हजार ३ सय ८१ हेक्टर क्षेत्रफल वनले ओगटेको छ । तर, यहि प्रदेशमा २० पालिका वनरहित छन् । वन नीतिले हरेक स्थानीय तहमा कम्तिमा १० प्रतिशत वन क्षेत्र हुनुपर्ने ब्यवस्था गरेको भएपनि लुम्बिनी प्रदेशको बाँकेमा ३, कपिलवस्तुमा ५, नवलपरासीमा ३ र रुपन्देहीमा ९ पालिका वनरहित भएको पाईन्छ । सिद्धार्थनगर, लुम्बिनी सास्कृतिक नगरपालिकासहित मर्चवारी, रोहिणी, मायादेवी, कोटहीमाई, सियारीलगायत गाउँपालिकामा वनक्षेत्र शुन्य छ ।
बुटवल उपमहानगरपालिकामा भने ४९ प्रतिशत वन क्षेत्र छ । विस्तार हुँदै गएका र ठुला शहरी क्षेत्रमा वन खुम्चिदै गएको छ । शहरीकरणसंगै पुराना कुलोहरु, खोल्सा, खोलाहरुका डिल अतिक्रमण गरि संरचनाहरु निर्माण गर्ने क्रम बढेको र सडक निर्माण गर्दा किनाराका रुखहरु मासिएकाले शहरी क्षेत्रमा हरियाली निरन्तर घटिरहेको छ । यस्ता गतिविधिले गर्दा प्रदेशमा वायु प्रदुषण वृद्धिमा सघाउ पुगिरहेको छ ।
लुम्बिनी प्रदेशमा वायु प्रदुषण समस्या बढाउनमा यहाँका कतिपय परम्परागत व्यवहार पनि जिम्मेवार छन् । तराई क्षेत्रमा बाली स्याहारेपछि खेतबारीमा नै पराल, भुस, छ्वालिमा आगो लगाउने प्रचलन छ । प्रसिद्ध लुम्बिनी क्षेत्रमा वायु प्रदुषण बढ्नुमा यसलाई प्रमुख कारण मध्येको एक मानिन्छ । तराईमा व्यवसायिक खेति गर्ने क्रम बढेको छ र खेतीपातीमा रासायनिक विषादीको प्रयोग बढ्दो छ । प्रदेशको तराईसंग जोडिएका भारतीय भूभागमा त झन् विषादी अत्यधिक प्रयोग हुने गरेको छ ।
भारतमै वायु प्रदुषण उच्च भएका क्षेत्रहरु मध्येमा पर्ने लखनौ र गोरखपुर जस्ता शहरहरु प्रदेशको नजिक रहेका छन् । पश्चिमी वायुको प्रभाव यो प्रदेशमा बढी हुने र यो वायुसंगे भारतीय भूमिको प्रदुषण पनि प्रदेशमै आउने गरेको छ । २०६८ को जनगणना अनुसार यस प्रदेशका ७१.१ प्रतिशत परिवारले खाना पकाउनको लागि दाउरा र ५ प्रतिशतले गुइँठाको प्रयोग गर्छन । घरहरु साघुँरा हुने र यस्ता परम्पागत उर्जाको प्रयोग बढी हुने भएकोले लुम्बिनी प्रदेशमा घरभित्रको प्रदुषण उच्च रहेको सहज अनुमान गर्न सकिन्छ ।
लुम्बिनी प्रदेशमा फोहरमैलाको बारेमा अचेल प्रशस्तै चर्चा हुने गरेको छ । टिपर चल्ने बाटो र खानी छेउछाउ, क्रेसर उद्योग र सिमेन्ट उद्योग छेउछाउका बासिन्दाहरुले धुलोको विरुद्ध कहिलेकाही आवाज उठाउने गरेपनि समग्र वायु प्रदुषणको बारेमा प्रदेशमा धेरै चासो लिएको देखिँदैन । प्रदेशमा वायुको गुणस्तर मापन गर्नको लागि नेपालगंज ,घोराही, लुम्बिनी र बुटवलमा रियल टाइम एअर मनिटर मेशिन राखिएको थियो । बुटवलमा राखिएको मनिटरले २०७५ चैत्रदेखि काम गर्न छोडेको छ । लुम्बिनीको मेशिनले पनि २०७७ बैशाखदेखि काम गरेको छैन । घोराहीको मेशिनले पनि अहिले काम गरेको छैन । र नेपालगन्जको मेशिनले भने काम गरिरहेको छ ।
पछिल्लो एक साताको दैनिक तथ्यांक हेर्दा नेपालगन्जको वायुमा पीएम २.५ र पीएम १० को मात्रा क्रमश ९१.८४ र ९९ पुगेको देखिन्छ । पीएम २.५ को मात्रा सरकारले तोकेको मापदण्ड भन्दा दुई गुना भन्दा बढी भएको देखिन्छ । लुम्बिनीको यो वर्षको तथ्यांक नपाएपनि अघिल्ला वर्षहरुको तथ्यांकलाई हेर्दा दांग र नेपालगंज भन्दा लुम्बिनीमा प्रदुषक कणहरुको मात्रा बढी देखिन्छ ।
२०७६ को पुषको पहिलो साता नेपालगन्जमा पीएम २.५को मात्रा १७५ र दांगमा ९० रहदा लुम्बिनी क्षेत्रमा २०९ माइक्रोग्राम थियो । बुटवलमा एअर मोनिटरले काम गर्दाको अन्तिम दिन ( १६ मार्च २०१९) पी एम २.५ मो मात्रा ४४ थियो.सोहि दिन लुम्बिनी, नेपालगञ्ज र दाङमा पीएम २.५ को मात्रा क्रमशः १४२ माइक्रोग्राम, १४१ माइक्रो ग्राम र १०६ मईकोग्राम रहको देखिन्छ । यी नयाँ पुराना तथ्यांकहरुलाई विश्लेषण गर्दा प्रदेशका दक्षिणी क्षेत्रमा वायु प्रदुषणको अवस्था चिन्ताजनक देखिन्छ । तुलनात्मक रुपले फराकिलो र कम शहरिकरण र औद्योगिकरण भएको दांग उपत्यकाको हावामा प्रदुषक कणहरुको मात्रा स्वीकृत सीमाभन्दा ३ गुणा भन्दा बढी हुनुले यो उपत्यका भविष्यमा काठमाण्डौं उपत्यका जस्तै प्रदुषित र अस्वस्थकर बन्ने चिन्ता बढेको छ ।
लुम्बिनी प्रदेशमा घना शहरी क्षेत्र नया औद्योगिक क्षेत्र र सडक संजालहरु विस्तारित हुँदैछन् । यी सबै कामहरु हुदा वातावरणीय मापदण्डलाई पालना नगरिएकोले प्रदेशमा वायु प्रदुषणको समस्या बढिरहेको छ । अहिले प्रदेशमा वायुको गुणस्तर सम्बन्धि निकै कम सूचनाहरु प्राप्त छन्, यसैको आधारमा हेर्दा पनि प्रदेशको वायु अस्वस्थकर भएको देखिएको छ । प्रदेशका सबै मुख्य शहरमा एअर मनिटर मेशिन राखेर जाँच्ने हो भने यो भन्दा फरक नतिजा आउनेछैन ।
विश्व शान्तिको मुहान लुम्बिनी, स्थलमार्गबाट धेरै पर्यटक नेपाल आउने नाका भैरहवा, पश्चिममा धेरै पर्यटक प्रवेश गर्ने बिन्दु नेपालगंज र प्रदेशको राजधानी तोकिएको दांगमा वायुको गुणस्तर अस्वस्थकर भैरहदा प्रदेशका नागरिकको स्वास्थ्य त जोखिममा परिरहको छ नै प्रदेशको पर्यटनमा समेत नकारात्मक प्रभाव परेको छ । प्रत्येक नागरिकलाई आफुले स्वास फेर्ने वायु कति स्वस्थ र सुरक्षित छ भन्ने जान्ने अधिकार छ ।
सरकारले उचित प्रणाली जडान गरेर नागरिकलाई उनीहरुको वायुको वारेमा जानकारी दिने, प्रदुषण बढी भएको ठाँउमा प्रदुषणको श्रोतमा नियन्त्रण गर्ने, स्वच्छ उत्पादन प्रविधि र हरियाली प्रवर्द्धनमा जोड दिने जस्ता कामहरु गर्न सकिएन भने लुम्बिनी प्रदेशका तराई र उपत्यकाका धेरै शहरहरु काठमाण्डौ उपत्यका जस्तै दुषित शहरको परिचय पाउन बेर लाग्ने छैन।
प्रतिक्रिया