रिडी । प्रसिद्ध रुरुधाम बुढेसकालको जीवन बिताउने ठाउँको रुपमा परापूर्व कालदेखि परिचित छ । धेरै भक्तालुहरुका स–साना कुटीहरु गण्डकीको तिरमा अझै देख्न पाइन्छ । कताकति कुटिहरुमा अहिले पनि भक्त–भक्तेनी बस्ने गरेका छन्।
कालीगण्डकीको तटमा बसे मृत्युपछि मुक्ति मात्र होइन मोक्षको आशामा धेरै वृद्धा बा–आमाले रुरु धाममा शरण लिएको पाइन्छ । अहिले पनि विष्णु पन्जर लामो चौतारी माथि ठाडो गल्ली तिर भक्त भक्तेनी हरु बस्ने गरेकै कारण यो क्षेत्रलाई भक्तेनी टोल भनिन्छ ।
पछिल्लो समयमा भने यहि रुरु धाममा शरणमा आउने भक्त भक्तेनीका लागि सुविधा सम्पन्न वृदाश्रम सञ्चालन पछि रुरु धाममा आएर वस्न चाहने बा–आमालाई सजिलो भएको छ । रिडी बजारका जीवन कुमार कसजुलाई यहि वृद्धाश्रममा बस्ने बा–आमाको स्याहार सम्भारमा खटिँदा एक छिन फुर्सद छैन ।
‘सबैभन्दा पुण्य वृद्ध अवस्थाका बा–आमाको सेवाले हुन्छ भनेर खटेको छु ।’ कसजुले भने। रिडीधामको एकमात्र वृद्धाश्रम मानव कल्याण वृद्धाश्रम अर्खलेका टेक बहादुर कुवँर ढिठ्ठाको पहलमा स्थापना भएको करिब डेढ दशक वित्दैछ । त्यसोत रिडीका दानविर पशुपति प्रसाद आमात्य केशर मान बजिमय जीवन कुमार कसजु तम्घासका वेद प्रसाद पदमपाणी पन्थी लगाएत का व्यक्तितहरु यस संस्थाका संस्थापक रहेको वृद्धाश्रम सन्चालक समितिका अध्यक्ष जीवन कुमार कसजुले बताए।
दानवीर पशुपति प्रसाद आमात्यले दान गरेको जग्गामा बनेको वृद्धाश्रमा वस्ने बा–आमाका लागि उनीहरुको परिवारको पहलमा खाने खर्चको जोहो समेत गरिएको छ । वृृद्धाश्रम कै व्यवस्थापन मा रहने गरी बा–आमालाई दिवा सेवा केन्द्रको व्यवस्था छ र जस्का लागि भैरहवाका दानविर प्रकाश श्रेष्ठ र महेश्वर श्रेष्ठले जग्गा दान गरेका छन् ।
‘वृद्धाश्रममा बस्ने बा–आमाका लागि खाने बस्ने जिम्मा वृद्धाश्रमको भएपनि आर्थिक अभावका कारण बा आमाको देखभालका लागि हेरालुको व्यवस्थापनमा समस्या छ । हेरालुको काम म र मेरो मेडमले गरिरहेका छौँ । बा–आमा भोकै नरहुन् भनेर घरबाट रोटि तरकारी पकाएर लगेर खुवाएका छौँ ’कसजुले भने ।
कति पटक घरको पीडाले कालीगण्डकीमा हाम फालेका वृद्ध–वृद्धालाई लाई आश्रममा ल्याएर पालेका कैयौँ उदाहरण छन् । राज्यबाट व्यवस्था भएको केही बजेटले वृद्धाश्रमको भौतिक सुधार गरिएपनि दिगोपनका लागि राज्य संवेदनशिल हुनु जरुरी देखिएको छ ।
प्रतिक्रिया