ताजा अपडेट »

एमालेले दुई तिहाइको उल्टो दुई/तीन सिट चाँही जित्छः झलनाथ खनाल

शनिबार, १२ चैत्र २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेले दुई/तीन सिट जित्ने दाबी गरेका छन् । दुई तिहाइ सिट नजित्ने उनले ठोकुवा गरे ।

काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा जारी समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै खनालले भने, ‘दुई तिहाइको ठीक उल्टो दुई/तीन सिट जित्न सक्छ ।’ 

उनले एमालेले गर्न सक्ने सम्भावित गठबन्धनबारे पनि आलोचना गरे । एमालेले आवश्यकताअनुसार लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायत पार्टीसँग गठबन्धन गर्ने चर्चा चलिरहेको छ । यी दलहरूसँग एमालेको गठबन्धन बने दक्षिणपन्थी मोर्चा भन्न सकिने उनको भनाइ छ ।

नेता खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रवाद अमेरिकी सहयोग परियोजना (एमसीसी)सँग उदाङ्गिएको पनि बताए ।