कार्तिक २७,
ग्लोबल आवाज
काठमाडौँ । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणपछि नेपाल आउने चिनियाँ पर्यटकको संख्या बढ्न थालेको छ। भ्रमणका क्रममा चिनफिङले नेपाल दक्षिण एसियामा चिनियाँले मन पराउने मुलुक भएको, भ्रमण वर्षमा चीनले सहयोग गर्ने र चिनियाँको आकर्षणको गन्तव्य लुम्बिनी भएको बताएका थिए ।
राष्ट्रपतिको भ्रमणले चिनियाँको नेपाल भ्रमण बढाउन सहयोग पुर्याएको पर्यटन व्यवसायी बताउँछन् । एउटै भ्रमण टोलीमा १ सय १५ चिनियाँ पर्यटक नेपाल घुम्न आएको विषयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराइले सीको भ्रणमको सकारात्मक प्रभावका रूपमा मंगलबार सामाजिक सञ्जालमार्फत व्यक्त गरेका छन्। चिनियाँ पर्यटक वृद्धि सन् २०२० को निम्ति पनि राम्रो संकेत भएको मन्त्री भट्टराईको भनाइ छ।नेपाल एसोसिएसन अफ टुर अपरेटर्स (नाटो) का अध्यक्ष अशोक पोखरेल सीको भ्रमणले पर्यटक आगमनमा सकारात्मक प्रभाव पारेको बताउँछन् । सी उच्च स्तरका व्यक्तित्व भएकाले सी जहाँ गयो त्यति चिनियाँ पर्यटक जाने र सीले सकारात्मक प्रतिक्रिया दिएका मुलुकमा देशका पर्यटक जान खोज्नुलाई सकारात्मक नै मान्नुपर्ने बुझाइ पोखरेलको छ। अपेच्छा अनुसार र एकैपटक ह्वात्तै बढेको भने होइन। नेपालमा सन् २००१ देखि नै चिनियाँ पर्यटक भित्र्याउँदै आएका सुवाङची टुर्सका प्रबन्ध निर्देशक विशेष श्रेष्ठका अनुसार पछिल्लो समय चिनियाँ पर्यटकको पहुँच र हवाई सञ्जाल बढेको छ।
चीनबाट पाँचवटा वायुसेवा कम्पनीले नेपालमा नियमित उडान गरिरहेका छन् । चीनबाट एयर चाइनाले सातामा १ सय २७ र २ सय ८१ सिट क्षमताका जहाजबाट १० वटा र चाइना इस्टर्नले १ सय ३२ सिट क्षमताको जहाजबाट १४ वटा उडान गर्छ। यस्तै, चाइना साउदर्नले १ सय २० देखि २सय ८६ सिट क्षमतासम्मका सात प्रकारका जहाजबाट सातामा १४ उडान गरिरहेको छ। सिचुवान एयरलाइन्सले १ सय ३१ सिट क्षमताको जहाजबाट सातामा चारवटा, तिब्बत एयरलाइन्सले १ सय २८ सिट क्षमताको जहाजबाट सातामा दुईवटा उडान गरिरहेको छ।नेपालबाट भने हिमालय एयरलाइन्सले मात्रै भर्खरै चीनमा पहुँच बढाएको छ। राष्ट्रिय ध्वजाबाहकले भने प्रयास गरिरहेको भए पनि अनुमति पाइसकेको छैन। सरकारले चिनियाँ पर्यटक प्रवर्द्धन गर्न र चीनलाई आधार बनाएर उडान संख्या बढाउने गरी हवाई सेवा सम्झौता बढाएको छ। चीनबाट सन् २०१९ को १० महिनामा मात्रै एक लाख ३४ हजार पर्यटक भित्रिएका छन्। सन् २०२० मा यो संख्या साढे तीन लाख बनाउन हालको संख्यालाई दोब्बर गर्नुपर्ने चुनौती पनि छ।- अन्नपूर्णबाट
प्रतिक्रिया