ताजा अपडेट »

छत्रकोटको देवालय क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण

शुक्रबार, ११ चैत्र २०७८

गुल्मी । तानसेन-रिडी-तम्घास मोटर बाटोको नजिकै फराकिलो ठाउँ। गुल्मी अर्धाखाँची पाल्पा बाग्लुङका डाडाँ काँडाको दृष्यावलोकन समेत गर्न पाउँदा मन प्रफुल्ल हुन्छ । अझै त्यसै माथि छत्रकोट देवालयको दर्शनले मनोकांक्षा पूरा हुन्छ । पछिल्लो चरणमा चोएगाको छत्रकोट देविस्थानलाइ आन्तरिक पर्यटकहरुलाइ तान्ने गरि विकास गरिँदै छ । समतल रमणीय र धार्मिक परिवेश लिएको चोएगाको यो ठाउँ घुम्न देविको दर्शन गर्न र बनभोज खान आउउनेको घुँइचो लाग्ने गरेको छ ।

‘विदाको दिन त खुट्टो राख्ने ठाउँ हुँदैन । वनभोज खान आउने धेरै समूह हुन्छन् ।’ छत्रकोट देवालय मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापाले भने । ‘हुन पनि वरिपरि सल्लाका रुखहरुले रमणीय बनाएको त छ नै सँगै रहेको ठूलो चौरमा वनभोजका लागि जतिपनि ठाउँ छ र पानीको ओतका लागि चौेरमै टहरो समेत बनाइएको छ।’

‘वनभोजका लागि आउनेहरुलाई दाउरा पानी र भाँडाकुँडाको व्यवस्था छत्रकोट देवालय मन्दिरले व्यवस्था गरेको छ । वनभोजमा आउने समूहसँग प्रति समूह ३ हजार ५ सय लिएर दाउरा भाँडा-कुँडा पानी उपलब्ध गराउँछौ भने फोहोर व्यवस्थापनजो खर्च पनि यहि रकमबाट हुने गरेको छ । ’ देवालय व्यवस्थापन समितिका अध्यक्ष थापाले भने । तर, दाउरा भाँडा-कुँडा आफै ल्याउनेहरुका लागि भने लाग्ने शुल्कमा सोहि अनुसार घटाएर लिने गरेको थापाले बताए ।

वनभोज बाट उठ्ने रकम मन्दिरको भेटिले मन्दिरको पुनर्संरचनासँगै दैनिक पुजा-आजा भइरहेको छ । मन्दिर परिशरमा लुम्बिनी प्रदेशका सांसद कमलराज श्रेष्ठको पहलमा पौवा र मन्दिर व्यवस्थापन समितिको कार्यालय निर्माण कार्य सम्पन्न भएको छ ।छत्रकोट देवालय मन्दिर परिशरमा क्षत्र ,राधाकृष्ण पाँच पाण्डव ,दुर्गा मन्दिर , गणेश मन्दिर रहेका छन्।

प्रसिद्ध छत्रदेवालय क्षेत्रमा देव देवीको दर्शन,भाकल चढाउन र बलि दिन समेत धर्मावलम्बीहरु आउने गर्दछन । एकातिर देव देवीको दर्शन र अर्को तिर वनभोजको कार्यक्रमसहित गुल्मीका ग्रामिण र बजार क्षेत्रमात्र होइन बुटवल र पाल्पाबाट समेत यहाँ दर्शनार्थी र बनभोज समुह आउने गरेको पाइन्छ ।