ताजा अपडेट »

विपक्षी नेतृले गरिन् आफैंलाई राष्ट्रपति घोषणा

बुधबार, २७ कार्तिक २०७६

कार्तिक २७,
ग्लोबल आवाज

काठमाडौँ । दक्षिण अमेरिकी मुलुक बोलिभियाकी विपक्षी नेतृ जेनी अनेजले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी छन्। राष्ट्रपति इभो मोरालेसले राजीनामा दिएपछि अनेजले संसदको विशेष बैठकमा आफूलाई राष्ट्रपति घोषणा गरेकी हुन्। यद्यपि मोरालेससमर्थक लेफ्टिस्ट मुभमेन्ट फर सोसियालिजम पार्टीका सांसदहरुले उक्त बैठक बहिस्कार गरेका कारण राष्ट्रपति नियुक्तिका लागि कोरम भने पुगेन।

तर नेतृ अनेजले भने चाँडै निर्वाचन गराउने घोषणा गरेकी छन्। मोरालेसले अनेजको घोषणाको भत्र्सना गर्दै अनेजले कू गराउन प्रयत्न गरेको आरोप लगाएका छन्। मेक्सिकोतर्फ भागेका मोरालेसले आफ्नो जीवन खतरामा परेको भन्दै त्यहाँ शरण मागेका छन्। विवादास्पद राष्ट्रपति निर्वाचन परिणामको विषयलाई लिएर विरोध प्रदर्शन भएपछि उनले गत आइतबार राजीनामा दिएका थिए। उनले आफूलाई राजीनामा दिन बाध्य बनाइए पनि थप रक्तपात हुन नदिन आफ्नै इच्छाले राजीनामा दिएको बताएका छन्। आफैंलाई राष्ट्रपति घोषणा गरेकी अनेजले सिनेटलाई नियन्त्रणमा लिँदै आफूलाई आगामी राष्ट्रपतिको लाइनमा राखेकी छिन्। उनको नियुक्तिलाई बोलिभियाको संवैधानिक अदालतले अनुमोदन गर्ने अनुमान गरिएको छ। कोकोआ किसान मोरालेस सन् २००६ मा राष्ट्रपति बनेका थिए। उनी आदिवासी समुदायबाट राष्ट्रपति बन्ने पहिला व्यक्ति थिए।- एजेन्सी