रिडी । बाबु आमाका लागि छोराछोरी भविष्यका सपना हुन् । तिनै छोराछोरीमा बा आमाले भोलिको भविष्य देख्छन्। रुरुक्षेत्र गाउँ पालिका १ थोर्गा च्यूरेकका बिष्णू भण्डारी र अमृता भण्डारीले पनि आफ्ना दुई छोरा अविरल र अनुपम भण्डारीमा अरु बा आमाले जस्तै भविष्य खोजिरहँदा यतिबेला एउटा महान अभियानका अभियन्ता बन्न पुगेका छन्। बिष्णु र अमृताका दुबैछोरामा अटिजमको समस्या छ ।
पहिलो बच्चा जन्मेको चारवर्षमा अटिजमको समस्या भएको थाहा पाएका यी दुईजोडिको दोस्रो बच्चालाई पनि अटिजम भएपछि धेरै समय बच्चाहरुको यो अवस्थाले उनीहरुलाई विक्षिप्त मात्र बनाएन छोराहरुलाई हेरेर कहिल्यै आँखा ओभाना भएनन्। छोराहरु हुर्केर स्कुल जाने बेला भईसक्दा कहाँ पढाउने ,कहाँ लैजाने भन्ने पिरलो उत्तिकै बन्यो ।
‘पहिलो पटक रुरुक्षेत्रको रानिबासमा रहेको जनबोध माध्यमिक विध्यालयमा छोरालाई भर्ना गरेँ तर उसको अटिजमको समस्याले अरु विध्यार्थीलाई अध्ययन अध्यापनमा डिस्ट्रब भएको कुराले डेढ महिनामै स्कुलबाट निकाल्न बाध्य भएँ त्यसपछि फेरि उपल्लो तम्घासमा विध्यालयमा भर्ना गरियो त्यहाँ पनि अटिजम भएकालाई पढाउने र राख्ने सुविधा नभएपछि दुई महिनामै विध्यालयबाट निकालेँ ।’ अमृता भण्डारीले भनिन् ।
आफ्ना दुवै छोराहरुमा अटिजमको समस्या भएपछि उनिहरुको भविष्य निर्माणका लागि पनि बिष्णु र अमृता भण्डारीले केही उपाय त निकाल्नै पर्थ्यो । यहि क्रममा छोराहरुलाई घरमै शिक्षा दिनकै लागि अमृता भण्डारीले अटिजम केयर नेपाल सोसाइटी नक्साल काठमाडौंमा अटिजमको तालिम लिएपछि शुरु भयो उनको अटिजम अभियन्ताको अभियान ।
आफ्नै घरका दुई छोरामा अटिजमको समस्या त छँदै थियो र बिष्णु र अमृतालाई लाग्यो आफ्नै छोरा जस्तै समस्या भएका अरुका छोराछोरी पनि होलान किन उनिहरुको शिक्षाका लागि हामीले योगदान नगर्ने त रु यहि सामाजिक उत्तरदायित्वको सोँचले बिक्रम सम्वत २०७४ सालमा रिडीबजारमा अटिजम पाठशाला नेपाल जन्मियो र शुरु भयो अटिजम शैक्षिक अभियान ।
अमृता र बिष्णु भण्डारीको समाजसेवाको यो अभियानले सार्थकता मात्रै पाएन यतिबेला अमृता भण्डारी अटिजमकी आमा र बिष्णु भण्डारी अटिजमका बाबाको रुपमा स्थापित नाम बन्न पुग्यो।
रिडीमा अटिजम पाठशाला छ भनेपछि वरिपरिका गाउँबाट पनि यो समस्या भएका बाबू नानीका अभिभावकहरुमा आशा मात्र जागेन यो पाठशालाया छोराछोरी ल्याएपछि पाठशालाको सिकाईले छोराछारीमा आएको परिवर्तनले ठूलो आशा जगायो ।
अमृता भन्छिन् ‘हामीले अभिभावक हरुले लामो समय बाँधेर राखेका बच्चाहरुलाई ल्याएर पनि सिकाईबाट उसको बानि व्यवहार मा परिवर्तन गरेका छौँ र हामीकहाँ रहेका अटिजम समस्यामा रहेका बच्चाहरुमा सिकाईले धेरै कुरामा परिवर्तन ल्याएको छ।’
यतिबेला अटिमम पाठशाला रिडीमा आठ जना बच्चाहरुले अध्ययन गर्छन त्यसोत गाउँघरमा यो समस्या भएका धेरै बालबालिका छन् । तर अभिभावकहरु नै आफ्ना बच्चाहरुलाई रहेको अटिजमको समस्या चेतनाको कमिले खुलाउन चाहेको पाईँदैन ।
वास्तमा अटिजमको समस्यालाई निरन्तरको सिकाईले परिवर्तन ल्याउन सक्छ । यसकालागि पहिले आफ्नो बच्चामा अटिजम छ कि छैन भन्ने पत्ता लगाउनु पर्छ । मुख्यतया एक्लै खेल्न मन पराउने ,कसैले बोलाए नहेर्ने बोलाउँदा जवाफ नदिने ,चोटपटक लागे नभन्ने ,जे सोध्यो त्यहि भन्ने प्रश्नको उत्तर नदिने ,नाम लिएर बोलाउँदा केही प्रतिक्रिया नदिने ,अरुले गरे जस्तै कुरा अनुकरण गर्न नसक्ने ,सानो कुरामा रिसाउने बिनाकारण रुने कराउने चिच्याउने ,लगाएतका लक्षणहरु भए अटिजम समस्य भएको हुन सक्ने अटिजम पाठशाला गुल्मीका सँचालक तथा प्रशिक्षक अमृता भण्डारीको भनाई छ ।
रुरुक्षेत्र गाउँपालिकाले अटिजम पाठशाला निर्माणमा ठुलो सहयोग मात्र गरेको छैन यतिबेला रुरुक्षेत्र गाउँपालिकाको पहलमा सुविधा सम्पन्न भवन रुरुक्षेत्र १ को रातामाटामा निर्माण कार्य शुरु भएको छ । रुरुक्षेत्र गाउँ पालिकाका अध्यक्ष निलकण्ठ गौतम र उपाध्यक्ष लक्ष्मी देवि पन्थको पहलमा साठिलाख बिनियोजित रकमबाट रातामाटामा अटिजम पाठशालाको सुविधा सम्पन्न भवन बन्न लागेको हो ।
जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख तुल्सी श्रेष्ठले प्रदान गर्नु भएको दुईरोपनि र च्यूरेकका रामप्रसाद ज्ञवालीले निशुल्क र सशुल्क समेत प्रदान गर्नु भएको जग्गामा बन्न थालेको ६ कोठे अटिजम पाठशाला लुम्बिनी प्रदेशको पहिलो पाठशाला बन्ने छ ।
यतिबेला बिष्णु भण्डारी र अमृता भण्डारीको यो जोडीले अटिजमको समस्यामा रहेका आफ्ना दुई छोरा अविरल र अनुपम जस्तै दर्जनौं अटिजम पीडित बालबालिकाका पनि बा-आमा बनेर महान अभियानमा चौविसै घण्टा क्रियाशील रहँदै आफ्नो अभियानले मानवता जगाउने काममा लागि परेका छन् ।
प्रतिक्रिया