बुटवल । नेपाल डेन्टल एसोसिएसन रुपन्देही शाखाले ‘विश्व मुख स्वास्थ्य’ दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ । ‘आ-आफ्नो मुखप्रति गर्व गरौँ’ भन्ने नाराका साथ आइतबार यो दिवस मनाइएको हो ।
दिवसका अवसरमा दाँतको सफाईं तथा मुख स्वास्थ्यको विषयमा जनचेतनामूलक र्याली, आश्रममा खाद्यन्न सहयोग, निःशुल्क दन्त परीक्षण र रक्तदान लगायतका कार्यक्रम सम्पन्न गरिएको नेपाल डेन्टल एसोसिएसन रुपन्देहीका उपाध्यक्ष डा. दिपेन्द्र पोखरेलले जानकारी दिए । आइतबार बिहान बुटवल स्थित लुम्बिनी प्रादेशीक अस्पतालबाट सुरु भएको मुख स्वास्थ्यसम्बन्धी बृहत् जनचेतनामूलक र्याली ट्राफीक चोकसम्म पुगेर प्रादेशीक अस्पतालमै फर्कीएको थियो । र्यालीमा डाक्टर, डेन्टल एसिस्टेन्ट, विद्यार्थीहरु समेत सहभागी भएका थिए ।
त्यस्तै दिवसका अवसरमा बुटवल–११ देविनगर स्थित नेपाल अपाङ्ग आश्रममा खाद्यन्न सहयोग गरेको छ । आश्रममा आश्रित नागरिकहरुको निःशुल्क दन्त परिक्षण समेत गरिएको छ । आश्रममा रहेका नागरिकहरु बिरामी हुँदा रुपन्देही शाखाले सम्बन्धीत रोगका बिशेषज्ञहरुबाट निःशुल्क उपचार गर्दै आएको उपाध्यक्ष डा. पोखरेलले बताए । त्यसैगरि दिवसका अवसरमा रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल डेन्टल एसोसिएसन रुपन्देहीका अध्यक्ष डा. बिकास कुमार अग्रहरीको अध्यक्षतामा कार्यक्रम भएको थियो । हरेक व्यक्तिले दाँत तथा मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उनले बताए । बिहान र बेलुका नियमित दाँत माझ्दा मुख तथा दाँत सम्बन्धी धेरै रोगहरूलाई नियन्त्रण गर्न सकिने डा. अग्रहरीको भनाई छ । अधिकांश नेपालीहरूलाई बिहान बेलुका खाना खाएपछि दाँत माझ्नुपर्छ भन्ने ज्ञान नभएको र दाँत माझ्ने तरिका थाहा नभएको उनले बताए । बालबालिकाहरुलाई पनि मुख स्वास्थ्यबारे जानकारी गराउनुपर्नेमा डा. अग्रहरीले जोड दिए । ‘शरीरका सम्पूर्ण अंगहरुलाई स्वस्थ र सुचारु राख्नका लागि खानेकुरा र पौष्टिक तत्वहरु मुखबाटै खाने गरिन्छ । तर मुख नै स्वस्थ राख्न सकिएन भने शरीर पनि स्वस्थ रहन सक्दैन ।’ सहसचिव डा. सुनिल खरेलले भने ।
नियमित सुर्तीजन्य पदार्थको सेवन गर्दा दाँत तथा गिजामा दाग बस्ने र पछि मुखको क्यान्सर समेत हुनसक्छ । हरेक वर्ष मार्च २० का दिन विश्व मुख स्वास्थ्य दिवस मनाउने गरिएको छ ।
प्रतिक्रिया