भैरहवा । विगत २ वर्षदेखि कोभिडको कारण खुलेर मनाउन नपाएको होली पर्व भैरहवाबासीले यस पटक खुलेर मनाएका छन् । होली पर्वको अवसर पारेर विभिन्न संघ संस्थाहरुले भैरहवा र यस आसपासमा राखेका होली मिलन कार्यक्रम तथा अन्य सांगितिक कार्यक्रमहरुको समेत स्थानीयहरुको उत्साहजनक सहभागिता रहेको थियो ।
कोभिडको कारण सिथिल परेको निजी क्षेत्र, राजनैतिक दलका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, कर्मचारी लगाएत सबैले अहिले होलीमा उत्साह सहित भाग लिएका छन् । विगत २ वर्षमा कोभिडको कारण डराएर सिमित रुपमा होली मनाईए पनि यस पटक नेपालीहरु घरबाट बाहिर निस्केर होली मनाए ।
यस पटकको होलीले उत्साह थपेको भैरहवावासीको प्रतिक्रिया रहेको थियो । लुम्बिनी प्रेस क्लबले आयोजना गरेको होली मिलन कार्यक्रमका सहभागी उद्योग बाणिज्य संघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले कोभिडको कारण सिथिल रहेको आर्थिक क्षेत्र पनि अब गति लिने आश बढेको प्रतिक्रिया दिए । “होली पछिका हाम्रा दिनहरु पनि अब रंगिन भएर जाने आशा पलाएको छ ।” शर्माले भने “जसरी रङ्गहरु आपसमा रङ्गीचङ्गी भएर राम्रो देखिएको छ गरि नेपालका सबै पक्ष मिलेर बस्ने यसले सन्देश दिएको छ ।”
नेपालमा होली २ दिन मनाईन्छ । पहिलो दिन हिमाली र पहाडी क्षेत्रमा भने दोश्रो दिन तराई क्षेत्रमा । होलीमा भैरहवाका बाटो मात्र हैन गल्लीहरु समेत रंगीन देखिए । बसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।
प्रतिक्रिया