ताजा अपडेट »

स्थानीय तहको निर्वाचनमा उम्मेद्वार हुनका लागि एमालेको यस्तो छ मापदण्ड

बुधबार, ०२ चैत्र २०७८

बुटवल । नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा उम्मेदवार सिफारिस र निर्णय गर्ने मापदण्ड तयार गरेको छ । पार्टीको केन्द्रीय सचिवालयको मंगलबार साँझ बसेको बैठकले उम्मदेवार सिफारिसको मापदण्ड पारित गरेको हो ।

सचिवालयले पारित गरेको मापदण्ड अनुसार एमालेले वडाध्यक्ष र सदस्यहरुको सिफारिस पार्टीको वडा कमिटीले गर्ने र जिल्ला कमिटीले टिकटको निर्णय गर्ने छ । विगतमा जस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका मेयर र उपमेयरको सिफारिस जिल्ला पार्टी कमिटीले गर्ने र निर्णय प्रदेश कमिटीले गर्ने एमाले प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वीसुब्बा गुरुङले बताए ।

त्यसैगरी महानगरपालिका र उपमहानगरपालिकाका मेयर तथा उपमेयरको टिकटको सिफारिस जिल्ला र प्रदेश कमिटीले गर्ने र टिकटको निर्णय केन्द्रिय कमिटीले गर्ने छ । स्थानीय चुनावकै बारेमा केन्द्रित रहेर सचिवालयको बैठक भएको र चुनावी रणनीति बनाउन एमालेले चैत ७ गते पोलिटव्यूरो, चैत ९ र १० गते केन्द्रीय कमिटी र चैत १३ गते स्थायी कमिटी बैठक बस्ने प्रमुख गुरुङले जानकारी दिए ।