ताजा अपडेट »

लयमा फर्कदै फिल्म हल, एकपछि अर्को चलचित्र प्रदर्शनमा

मंगलबार, ०१ चैत्र २०७८

बुटवल । कोरोना महामारीका कारण करिब २ वर्ष ठप्प प्रायः भएका चलचित्र हल पुरानै अवस्थामा आउँदैछन् । अर्थात् २ वर्ष अगाडि जस्तै नियमित एकपछि अर्को चलचित्र प्रदर्शन हुने क्रम बढ्दो छ ।

करिब २ महिना अगाडि चलचित्र हल सुरु भएतापनि चलचित्रको अभावले गति लिन नसकेका हलमा अहिले भने एकपछि अर्को कलिवुड, बलिवुड र हलिवुड चलचित्रहरु प्रदर्शन भइरहेको बुटवलस्थित क्यूएफएक्सका म्यानेजर महेश्वर गिरीले बताए ।

शुक्रबारदेखि क्यूएफएक्समा अक्ष्यकुमारको ‘वचन पाण्डे’ प्रर्दशनमा आउने भएको छ । होलीलाई मध्यनजर गर्दै दर्शकको चाहना अनुसार शुक्रबार वचन पाण्डे फिल्म प्रर्दशनमा ल्याउन लागिएको म्यानेजर महेश्वर गिरीले बताए ।

अहिले प्रदर्शनमा रहेका राधेश्याम, इटी, गङ्गुवाई फिल्म दर्शकले अति नै रुचाएको र फूल हाउसमा नै फिल्म सञ्चालन भइरहेको उनले बताए । ‘अहिले सञ्चालनमा रहेको राधेश्याम, ईटी, गङ्गुवाई फिल्मले दर्शकको निकै नै साथ पाएका छन् । होलीको अवसर पारेर होलिको दिन प्रर्दशनमा आउन लागेको वचन पाण्डेले पनि दर्शकको राम्रो साथ आउने अपेक्षा छ । ’–उनले भने ।

कोरोना महामारीका कारण लामो समयसम्म ठप्प रहेको फिल्म क्षेत्रमा अहिले भएको दर्शकको साथले निकै उत्साहित भएको गिरीले बताए ।क्यूएफएक्सले दर्शकको चाहना अनुसारका फिल्म प्रदर्शनमा ल्याउने उनले बताए ।