कार्तिक २४,
ढाका । उपाधिको दावेदार नेपालले बंगलादेशमा जारी प्रथम एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपमा अफगानिस्तानमाथि सहज जित निकाल्दै विजयी शुरुवात गरेको छ । शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा आइतबार भएको खेलमा नेपालले अफगानिस्तानमाथि ३–० को सशज जित हात पारेको हो । एकपक्षीय खेलमा नेपालले तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्द्धी अफगानिस्तानलाई कुनै सेटमा दोहोरो अंक बटुल्न दिएन । पहिलो सेटमा २५-४ को सहज जित हात पारेको नेपालले दोस्रो सेटमा २५-९ को जितको निकालेको थियो । तेस्रो सेटमा नेपालले २५-६ को जित निकाल्यो ।
जितसँगै नेपालले ३ अंक जोडेको छ ।बंगलादेशले ३ तथा माल्दिभ्सले २ अंक जोेडेको छ । किर्गिस्तानले १ तथा दुई खेल खेलेको अफगानिस्तान अंक विहीन छ । अब नेपालले दोस्रो खेलमा सोमबार किर्गिस्तानसँग, मंगलबार आयोजक बंगलादेशसँग र बुधबार माल्दिभ्ससँग खेल्ने छ । आजै आयोजक बंगलादेश र माल्दिभ्सबीच खेल हुनेछ । राउन्ड रोविन लिगको शीर्ष दुई टोलीले उपाधिका लागि नोभेम्वर १४ मा खेल्नेछ । सोही दिन तेस्रो र चौथो स्थानको प्ले अफ हुनेछ ।च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, अफगानिस्तान, माल्दिभ्स र किर्गिस्तानको सहभागिता रहेको छ । च्याम्पियनसिपका सबै खेलहरु शाहिद शुरवार्दी इन्डोर स्टेडियम मिरपुर ढाकामा हुनेछ । -हाम्रो खेलकूद
प्रतिक्रिया