कार्तिक २४,
काठमाडौं । सभामुख कृष्णबहादुर महरा बलात्कार अभियोगमा सदरखोर कारागार पुगेपछि सत्तारुढ दल नेकपाभित्र नयाँ सभामुखको खोजि शुरु भएको छ । भागबन्डाका आधारमा पूर्वमाओवादीले प्रधानमन्त्री पदसँग सभामुख पद साटेको थियो । तर सभामुख महरा जेल पुगेपछि बालुवाटारभित्र नयाँ सभामुखको खोजि शुरु भएको हो । नयाँ सभामुख पनि पूर्वमाओवादीबाट बनाउनु पर्ने पक्षमा केही नेताहरु अभिएका छन् भने पूर्व एमालेका नेताहरु प्रधानमन्त्रीलाई सजिलो हुनेगरी सभामुखको खोजि गर्नुपर्ने तर्क गरिरहेका छन् ।
नेकपाभित्र सभामुखका लागि सुवास नेम्वाङ, देव गुरुङको नाम चर्चामा थियो । तर पछिल्लो समय संसदलाई हाँक्न आँटिलो नेताको खोजि भइरहेको छ । नेम्वाङले सभामुख हुन अनिच्छा देखाएपछि नेत्री पम्फा भूसालको नाममा छलफल चलिरहेको स्रोतले बताएको छ । पूर्वमाओवादीबाट धेरै नेताले धेरै अवसर पाएका छन् । तर संसदीय अभ्यासमा अनुभवी भूसालले भने कुनै ठुलो जिम्मेवारी पाएकी छैनन् । भूसाललाई सभामुख बनाउने प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलले गरिसकेका छन् तर प्रधानमन्त्री ओलीले भने अझै मुख खोलेका छैनन् । ओली सकेसम्म नेम्वाङलाई नै सभामुख बनाउने पक्षमा छन् ।
भूसाल संसद र पार्टी राजनीतिमा निकै सक्रिय नेत्री हुन् । सभामुख पदका लागि उनी योग्य र सक्षम भएको पूर्वएमालेका प्रभावशाली नेताहरु नै बताउने गरेका छन् । भूसाल प्रधानमन्त्रीका लागि सजिलो सभामुख बन्छिन् कि बन्दिँनन् यही बिषयको निक्यौल प्रधानमन्त्री ओलीले गरिसकेका छैनन् ।
उता बर्तमान उपसभामुख डा. शिवमाया तुम्वाहाम्फेले सभामुखका लागि आफ्नो दावेदारी पेश गरेकी छिन् । शनिवार नेपालगञ्ज पुगेकी तुम्वाहाम्फेले उपसभामुख भइसकेको ब्यक्ति सभामुख हुन योग्य नै हुने बताइन । ‘उपसभामुख भइसकेको ब्यक्ति सभामुखका लागि तयार नै हुन्छ । बिगतमा पनि उपसभामुख सभामुख बनेर सक्षम ढंगबाट चलाइएको इतिहाँस छ’ उनले भनिन् ।
संसदको हिउँदे अधिवेशन शुरु हुने बेला भइसकेको छ । हिउँदे अधिवेशन बोलाउनुभन्दा पहिले नै सभामुख टुंगो लगाउने तयारी नेकपा शिर्ष नेताले गरिरहेका छन् । महिला सांसदहरुले महिलालाई नै सभामुख बनाउनु पर्ने तर्क गर्न थालेका छन् । पम्फा भूसालका पक्षमा सत्ता र प्रतिपक्षमा महिलाहरु उभिने थालेका छन् ।-यसकाठमाण्डूबाट
प्रतिक्रिया