ताजा अपडेट »

मिड वेष्ट न्युरोसर्जनको सिएमई तिलोत्तमामा सम्पन्न

शनिबार, २८ फागुन २०७८

बुटवल । न्युरोसर्जन चिकित्सकहरुको कन्युमेनरी एजुकेशन (सिएमई) रुपन्देहीमा सम्पन्न भएको छ । सोसाईटी अफ न्युरोसर्जन्स अफ नेपाल अन्तरगतको मिड वेष्ट च्याप्टरका न्युरोसर्जनहरुको शुक्रबार सिएमई सम्पन्न भएको हो ।

नेपालका वरिष्ठ न्युरोसर्जन डा. वसन्त पन्तले कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीकृत विशिष्टकृत सेवा देशका विभिन्न भागहरुमा उपलब्ध हुँदा बिरामीको जीवन बचाउन सफल भएको बताए । न्युरो साईन्समा न्युरोसर्जन, न्युरोसर्जरी र साईक्लोजिष्टहरु पर्ने भन्दै यो निरन्तर र छिटोभन्दा छिटो परिवर्तन हुने क्षेत्र भएको उनले बताए । केन्द्रिकृत धेरै सेवाहरुको हब या ठाउँ बन्न सक्ने भन्दै प्रविधिको प्रयोगबाट हरेक क्षेत्रलाई सहजता ल्याएको उनको दाबी छ । मानिसको टाउको भागको शल्यक्रिया धेरै सूक्ष्म नशाहरु हुने हुँदा पनि संवेदनशिल हुने भन्दै गिगाबाईटभन्दा पनि सूक्ष्म परीक्षण आधुनिक मेशिनहरुको प्रयोगले सफल बनाएको उनले बताए । नेपालको युवाहरु समेत नयाँ आविष्कारमा कम नभएको भन्दै उनले १२ कक्षामा पढ्ने दुई युवाहरुले बिरामीहरुको अभिब्यक्तिलाई कम्युटरमा उतार्ने सफ्टवेयर तयार गरेको बताए । यसबाट उपचरमा धेरै सहजता ल्याएको उनले बताए ।

संयोजक डा. केआईसी केसीले आफनो क्षेत्रमा गरेका कामको विषयमा छलफल गर्ने र योजना पेश गर्ने दक्षता दर्शाउने कार्यक्रम भएको बताए । न्युरोसर्जरीमा भएका काम र अब भावी कार्ययोजना पेश गर्दै उनले ७ वर्षको अवधिमा ट्रमाटिक ब्रेन ईन्जुरीका १ हजार ४ सय ४, हेमोरेगिक स्ट्रक २ सय ५९, स्पाईन सर्जरी ७९, क्रानियोप्लास्टी २ सय ४, सिएससडएच १ सय ८८, भिपि सन्ट ५१, ईन्ट्राक्रानियल ट्युमर ५७, एनिरिसियम ३८, एभिएम १ गरि २ हजार २ सय ८१ वटा जटिल शल्यक्रिया गरेको उनले बताए । काठमाण्डाैैं केन्द्रित कार्यक्रम अहिले विभिन्न भागका चिकित्सकहरु एकतावद्ध भएर गर्दै आएका छन् ।

बुटवलमा न्युरोसर्जरीको शुरुवातको अवस्था, अहिलेसम्म भएका र देखिएका चुनौतीको विषयमा डा.केसी, हेमोरोरी स्टोक (आईसिएच) को विषयमा डा. राजकुमार केसी, न्युरोसर्जिकल म्यानेजमेन्ट अफ ईन्फ्रारेबल हेमोरेजको विषयमा डा. सोमराज लामिछानेले कार्यपत्र पेश गर्दै न्युरोसर्जरीमा बिरामीको आकस्मिक परीक्षण र सिटिका साथै आईसिपि म्यानेजमेन्टका विषयमा जानकारी दिए । कार्यक्रममा वरिष्ठ न्युरोसर्जन चिकित्सक डा. याम बहादुर रोक्काले निरन्तर अभ्यास र अनुसन्धानको पाटोमा लाग्दा सिकाई हुने बताए । न्युरोसर्जरी क्षेत्रमा भएका नयाँ–नयाँ प्रविधि भित्राएर उपचारमा सफलता मिलेको उनले बताए ।

कार्यक्रममा डा. सुधन ढकालले नियमित वार्षिक रुपमा आफ्नो पक्षबाट भएका कार्यक्रम गरिएको बताए । नेपालका विभिन्न क्षेत्रहरु ईष्टर, वेष्ट र मिड वेष्ट च्याप्टर लगायतमा यस्ता कार्यक्रम गरिदै आएको छ । मिड वेष्ट च्याप्टरमा ७ जना चिकित्सकहरु कार्यरत छन् ।