भैरहवा । विश्व शान्तीका केन्द्र गौतम बुद्धको जन्मस्थल भएको क्षेत्र हो लुम्बिनी साँस्कृतिक नगरपालिका । नगरपालिकाको केन्द्रमा शाक्यमुनि गौतम बुद्धको जन्मभूमि मायादेवी मन्दिर रहेको र बौद्ध धर्मालम्बीको आस्थाको केन्द्र रहेको पावन स्थल रहेका कारण नगर क्षेत्रमा राष्ट्रिय अन्तर्राष्ट्रिय बौद्ध धर्मालम्बी एवं आन्तरिक एवम् वाह्य पर्यटकहरुको अत्याधिक आगमन हुने गरेको छ । बिक्रम सम्वत २०४२ सालमा गठन भएको लुम्बिनी बिकास कोष र २०७१ सालमा स्थापना भएको लुम्बिनी सांस्कृतिक नगरपालिका बीच समन्वय नहुँदा यस बुद्ध जन्मभूमिको फाईदा यहाँका स्थानीयले लिन पाएका छैनन् ।
लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी विकास कोषको समन्यव अभावको कारण पर्खाल बाहिरको जुन रुपमा विकास हुनु पर्ने हो त्यति हुन सकेको छैन । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले कोषले नगरपालिकासँग सहकार्य र समन्वय नगरेको गुनासो गरे । “लुम्बिनी बिकास कोष र लुम्बिनी सांस्कृतिक नगरपालिकासँग जबसम्म सहकार्य र समन्वय हुँदैन तबसम्म आत्मियता हुँदैन ।” प्रमुख चौधरीले भने “अहिले त यो बुझ्नै गाह्रो छ कि लुम्बिनी सांस्कृतिक नगरपालिका भित्र लुम्बिनी बिकास कोष छ कि लुम्बिनी बिकास कोषभित्र लुम्बिनी सांस्कृतिक नगरपालिका ?” नेपालकै पहिलो सांस्कृतिक नगरपालिकाको रुपमा रहेको लुम्बिनीले पर्खाल (बिकास कोष) बाहिर पनि विकास गरेको दावी गरेको छ । नगरपालिका गठन हुँदा कोष बाहेकका स्थानहरुमा हिड्नै नमिल्ने बाटोहरु नगरपालिकालाई हिलो मुक्त गरेको मेयर चौधरीको भनाई छ । उनले लुम्बिनीको मूख्य बाटोलाई मात्र प्राथमिकता नदिई भित्रि सडकलाई प्राथमिकतामा राखेर काम गरेको बताए । यस बाहेक कृषि, स्वास्थ्य, शिक्षा लगायतका बिषयमा पनि नगरपालिकाले उल्लेख्य कामहरु गरेको उनको भनाई छ ।
निर्वाचित भएको ५ वर्षको दौरान नगरपालिकाले प्रयाप्त वैदेशिक समन्वय गरेको छ । नगरपालिकाका प्रमुख चौधरीले लुम्बिनीको प्रवर्द्धनको लागि स्वदेश मात्र नभई विदेशका कतिपय स्थानहरुमा भगिनी सम्बन्ध कायम गरेको बताए । नगरपालिकाले नगरमा सय शैयाको विशेष अस्पतालको साथै १५ शैयाको नगर अस्पताल बनाउने तयारी थालेको समेत उनले बताए । “नयाँ नगरपालिका भएको कारण यसलाई हामीले शून्यबाट सुरु गरेका हौ ।” चौधरीले भने “अहिले १० वटा ऐन र १२ वटा कार्यविधि बनाएर अगाडी बढेका छौं ।” यससँगै सुकन्या धन योजना, नि:शुल्क रुपमा रगत प्रदान गर्ने गरि जय जनता ब्लड योजना, मेयर कृषि सिंचाई योजना लगायत जनतालाई प्रत्यक्ष फाईदा पुग्ने योजनाहरु सञ्चालन गरेको उनको भनाई छ ।
कोभिडको कारण २ वर्ष पूरै नगरको विकासको काम गर्न नसकेको उनको भनाई छ । उनले यदि जनताले फेरी विश्वास गरे नगर क्षेत्रमा १ हजार २ सय जना छात्राहरुको आवासीय सुविधासहित महिला विद्यालय, ५ हजार वसद्यार्थी क्षमताको आवासीय ईन्जिनियरिङ्ग कलेज सञ्चालन गर्ने चौधरीले बताए । नगर प्रमुखकै भनाईसित स्थानीयहरुको पनि भनाई मेल खान्छ । स्थानीय अर्जुन कुर्मिले यो ५ वर्षमा नगरपालिकाले पूर्वाधार विकासको काममा प्राथमिकता दिएको देखिएको बताए । उनले भित्रि गाउँहरुमा सडकहरु निर्माण गरेको बताए । तर पर्यटन विकास र आर्थिक समृद्धिमा नगरपालिका चुकेको उनले बताए ।
पर्यटनकै माध्यमबाट आर्थिक समृद्धि गर्ने सम्भावना यथेष्ट भए पनि नगरपालिकाले सोको लागि पहल गर्न सकेको देखिएन । लुम्बिनी बिकास कोष र लुम्बिन सांस्कृतिक नगरपालिका संयुक्त रुपमा नलागेसम्म स्थानीयहरुको आर्थिक समृद्धि नहुने उनिहरुको तर्क रहेको छ । नगरप्रमुखले नगरको बिकासमा यथेष्ट काम गरेको दाबी गरे पनि विपक्षीहरुले भने यसको खण्डन गरेका छन् । नगर प्रमुखले बाचा गरेको कुनै पनि काम नगरेको उनीहरुको आरोप छ । शिक्षा, स्वास्थ्य र सरसफाईमा कुनै पनि समस्या हल नगरेको उनीहरुको भनाई छ ।
हाल लुम्बिनी सांस्कृतिक नगरपालिकाका लागि मेयर पदका प्रत्याशी अमिरुद्दिनले वर्तमान मेयरले जनताको एउटा पनि मुद्दा समाधान नगरेको आरोप लगाए । “मेयरको काम लिएर स्थानीयहरुमा असन्तुष्टि छ, कतिपयको भनाई त मेयरले आफ्नो गुनासो नै नसुनेको आउने गरेको छ ।” अमिरुद्दिनले भने “ अहिलेका मेयर पूर्ण रुपमा असफल रहेका छन् ।”
प्रतिक्रिया