भैरहवा । लुम्बिनीमा जारी चौथो संस्करणको पडरिया लुम्बिनी नक आउट इन्डो नेपाल क्रिकेट टुर्नामेन्टमा आज भएको खेलमा लखनउ वरियर्सले नगवा क्रिकेट क्लबलाई १० विकेटले पराजित गरेको छ ।
टस जितेर बलिङ्ग रोजेको लखनउले नगवाका ब्याटरहरुलाई चल्नै दिएन । सुस्त गतिले सुरुवात गरेका नगवाका ब्याटरहरु लखनउ सामु खासै टिक्न सकेनन् । निर्धारित १५ ओभर समेत खेल्न नसकेका नगवाका लागी अर्जुनले सर्वाधिक २८ रन बनाए भने अमिनुद्दिनले २४ रन बनाएका थिए । जम्मा ९३ रन बनाउन सकेको नगवा टिमका लागी अजय कुमारले थप २० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बलिङ्ग तर्फ लखनउ वरियर्सका प्रकाश मौर्य र बादलले ३/३ विकेट लिएका थिए । यस्तै पंकज मिश्रले २ विकेट लिए ।
९४ रनको झिनो लक्ष्य लिएर मैदान छिरेको लखनउ वरियर्सले कुनै विकेट नगुमाई ७ ओभरमै उक्त लक्ष्य भेट्टाएको थियो । लखनउका लागी राममिलन यादवले २८ बलमा ५ छक्का र ५ चौकाको मद्दतले नटआउट ५७ रन बनाए । यस्तै अर्का खेलाडी पिन्टुले पनि लखनउको लागी १४ बलमा ३६ रन बनाउदै टिमलाई सहजै जित दिलाए ।
लुम्बिनीको पडरियमा नव युवा क्लब पडरिया, लुम्बिनीको आयोजनामा जारी चौथो पडरिया लुम्बिनी नक आउट इन्डो नेपाल क्रिकेट टुर्नामेन्टमा नेपाल र भारतका १६/१६ टिम गरि ३२ वटा टिमले सहभागीता जनाएका छन् । भोलीको खेल हफिज–११ बिरुद्ध लुण्डिहवा क्रिकेट क्लब, जयश्री कलेक्सन ककरहवा बिरुद्ध गोरखपुर रेलवे बिच खेल हुने क्लबका अध्यक्ष अहमद खाँनले जानकारी दिए ।
प्रतिक्रिया